गगनले सुनाए कांग्रेसमा १० साउन यता भएका र हुन नसकेका कार्य

गगनले सुनाए कांग्रेसमा १० साउन यता भएका र हुन नसकेका कार्य



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पार्टी कार्यालय सानेपामा जारी छ ।

बैठकमा महामन्त्री गगन थापाले अघिल्लो बैठकमा गरेका निर्णयहरू कार्यान्वयनको अवस्थासहित आगामी कार्ययोजनाका बारेमा जानकारी गराए । उनले १० साउनदेखि हालसम्म भएका र गर्न नसकिएका कार्यहरुको विवरण बैठकमा राखेका हुन् ।

महामन्त्री थापाले ७० वटा विभागमा १५ वटाको प्रमुख र एकमा प्रमुख सहित सदस्यहरु मनोनित गरिएको जानकारी गराए । हालसम्म प्रचार विभागमा मात्रै सदस्य विस्तार भएको उनले सुनाए । विभाग गठनको जिम्मेवारी सभापति शेरबहादुर देउवालाई छ ।

१५ भदौभित्र विभाग गठन गर्ने निर्णय अघिल्लो केन्द्रीय समिति बैठकले गरेको थियो । सभापतिले गठन गर्नुपर्ने अनुशासन समितिले पूर्णता पाएको बैठकलाई जानकारी गराए ।

महामन्त्री थापाले तल्लो तहका सम्मेलन हुँदै गरेको र कतिपयमा समस्या देखिएको उनले बैठकमा सुनाए । २० साउन देखि ३० साउनसम्म पार्टी संगठन सुदृढीकरणका लागि गरिएको अभियान, पोलिसी ह्याकाथान, बीपी साहित्य महोत्सव लगायतको कार्यतालिका प्रभावकारी भएको उनले सुनाए ।

कांग्रेसका केन्द्रीय प्रतिनिधिहरू विभिन्न जिल्लामा गएको भन्दै सबैका प्रतिवेदन आइसकेको बताएका छन् । उनले अब सबै प्रतिवेदन राखेर प्रदेशवाइज छलफल गर्ने तयारी रहेको बताउँदै आवश्यक सुझावका लागि तयार हुन आग्रह गरेका छन् ।