मगर आदिकवि रेखबहादुर थापाको योगदान विषयक विचार गोष्ठी सम्पन्न

मगर आदिकवि रेखबहादुर थापाको योगदान विषयक विचार गोष्ठी सम्पन्न


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागले जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानसँगको सहकार्यमा मगर आदिकविद्वय जीतबहादुर सिञ्जाली मगर र रेखबहादुर थापा मगरको जन्मजयन्ती मनायो ।

कार्यक्रमका प्रमुख अतिथि,प्रतिनिधि सभाका सम्माननीय उपसभामुख इन्दिरा राना मगरले प्रज्ञा-प्रतिष्ठानको देवकोटा सभा कक्षमा पानसमा दीप प्रज्वलन गरी आदिकवि द्वय ‘जीतबहादुर सिञ्जाली मगर’ र ‘रेखबहादुर थापा मगर’को तस्बिरमा माल्यार्पण गरेर कार्यक्रमको उद्घाटन गरिन । यस कार्यक्रममा ‘मगर आदिकवि रेखबहादुर थापाको योगदान’ विषयक गोष्ठी-पत्र पूर्णबहादुर रानाले प्रस्तुत गरे ।

उपसभामुख मगरले मातृभाषा र सिर्जनामा इतिहास र सभ्यता लुकेको हुन्छ ।संविधानले पनि जातजाति र भाषाभाषीलाई समावेशी अधिकार प्रदान गरेको छ। यसलाई उपयोग गर्दै प्रज्ञा-प्रतिष्ठानले थालनी गरेको मातृभाषा साहित्यको बहस अन्तर्गत मगरभाषा साहित्यका आदिकविको योगदानबारे चर्चा हुनु राज्यका प्राज्ञिक अङ्गको उपस्थिति हुनु हो । यसबाट आफू आशावादी रहेको बताइन ।

यस प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले बहुभाषी देशमा सबै भाषा समान हुन ।कुनै पनि भाषा सानो र ठुलो हुँदैन भन्दै द्वय मगर आदिकवि जीतबहादुर सिञ्जाली मगर र रेखबहादुर थापाको बारेमा थप खोज अनुसन्धान हुनुपर्ने बताए । प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ (विमल निभा) ले नेपालका प्रत्येक मातृभाषामा आदिकवि छन् । तिनीहरूको योगदानलाई राष्ट्र र समाजसामू ल्याउनुपर्ने बताए ।

विचार-गोष्ठीका सभाध्यक्ष , प्रज्ञा-प्रतिष्ठान प्राज्ञ परिषद् सदस्य तथा साहित्य (मातृभाषा) विभाग प्रमुख राजन मुकारुङले मगर आदिकवि द्वय जीतबहादुर सिञ्जाली मगर र रेखबहादुर थापाको ऐतिहासिक योगदानबारे थप खोजी गर्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रमको समापन गरे ।

प्रस्तुत गोष्ठी-पत्रमाथि मनबहादुर थापा मगरले टिप्पणी गर्नुभयो ।यस विचार-गोष्ठीको औचित्यमाथि जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानका अध्यक्ष सञ्जोग लाफा मगरले प्रकाश पार्दै स्वागत मनतव्य राखे । कार्यक्रमको उद्घोषण श्याम राना मगरले गरेका थिए ।