अमेरिकाले भन्याे– ‘क्यानडामा भएको सिख नेता हत्या प्रकरणमा भारतलाई विशेष छुट हुँदैन’

अमेरिकाले भन्याे– ‘क्यानडामा भएको सिख नेता हत्या प्रकरणमा भारतलाई विशेष छुट हुँदैन’



काठमाडौं । अमेरिकाले क्यानडामा खालिस्तान पक्षधर सिख नेता हरदीप सिंह निज्जरको हत्याको विषयमा भारतलाई कुनै विशेष छुट नदिने बताएको छ । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभनले यस विषयमा अमेरिका सरकार भारत र क्यानडा दुवै देशका उच्च अधिकारीसँग सम्पर्कमा रहेको भन्दै भारतलाई छुट नहुने बताएकाे बीबीसीले बताएको छ ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले निज्जरको हत्यामा भारतीय गुप्तचरको संलग्नता रहेको कुरा संसदमा बताएपछि दुई देशबीच तनाव बढेको छ ।

अमेरिका भारतसँगको सम्बन्धलाई बलियो बनाउने प्रयासमा छ । तर निज्जरको हत्याका सन्दर्भमा पत्रकारसँग कुरा गर्दै सलिभनले अमेरिका जुनसुकै देश प्रभावित भए पनि आफ्नो सिद्धान्तको पक्षमा अडिग रहने बताए । इरान, साउदी अरब र भियतनामपछि अब भारतसँग पनि त्यस्तै परिस्थिति उत्पन्न भएको उनले सङ्केत गरेको बीबीसीले जनाएको छ ।

भारत सरकारले शुरुदेखि नै क्यानडाले लगाएको आरोपलाई अस्वीकार गर्दै आएको छ । उसले क्यानडाले खालिस्तान समर्थकहरूलाई आश्रय दिएको आरोप लगाएको छ । निज्जर हत्या प्रकरणले भारत र क्यानडाबीचको सम्बन्ध अहिलेसम्मकै नराम्रो अवस्थामा पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।