प्रधानमन्त्री दाहाल बेइजिङमा, यस्तो छ आजको कार्यतालिका

प्रधानमन्त्री दाहाल बेइजिङमा, यस्तो छ आजको कार्यतालिका



बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बेइजिङ आइपुगेका छन् । चीनको औपचारिक भ्रमणका लागि शनिबार हाङ्जाउ आइपुगेका प्रधानमन्त्री दाहाल शनिबार राति भएको एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी भएर आज स्थानीय समयअनुसार विहान ११ बजे बेइजिङ आइपुगेका हुन् ।

प्रधानमन्त्री दाहालले आज बेइजिङमा हुने नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्नेछन् । चीनस्थित नेपाली राजदूतावासको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसिपिआइटीले सम्मेलनको आयोजना गरेका हुन् ।

उक्त लगानी सम्मेलनमा नेपाल र चीनका एक सयभन्दा बढी उद्योगी–व्यवसायी सहभागी हुनेछ । सम्मेलनका क्रममा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै नेपालमा लगानी प्रवर्द्धनका विषयमा आवश्यक छलफल हुनेछ ।

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले प्रधानमन्त्री दाहाल र चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आज बेइजिङमा रात्रिभोजको आयोजना गर्नेनेछन् ।

भोलि सोमबार प्रधानमन्त्री दाहालले चिनियाँ प्रधानमन्त्री लि छियाङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । भोलि नै नेपाल चीनका विविध सहयोग सम्झौतामा पनि हस्ताक्षर हुने कार्यक्रम रहेको छ । यस्तै प्रधानमन्त्री दाहालले चीनको नेसनल पिपुल्स कांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लेजीसँग भेटवार्ता गर्नेछन् ।

उक्त द्विपक्षीय भेटवार्ता र दुई देशबीचको सहयोग सम्झौतामा हस्ताक्षर गरेपछि प्रधानमन्त्री दाहाल चीनको छोङछिङ्ग महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकासको अवलोकन गर्ने कार्यक्रम छ । उक्त महानगरमा आधुनिक कृषि प्रणालीका साथै चीनले अपनाएको आधुनिक खेती प्रणालीबारेमा प्रधानमन्त्रीले जानकारी लिनेछन् ।

त्यसपछि प्रधानमन्त्री दाहाल नेपालसँग सिमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जानेछन् । तिब्बतमा रहँदा पनि उनले त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहाल आफ्नो प्रतिनिधिमण्डलसहित यही असोज १३ गते नेपाल फर्कने कार्यक्रम छ ।

संयुक्त राष्ट्र संघको ७८औँ महासभामा सहभागी हुन प्रधानमन्त्री दाहाल भदौ ३० गते अमेरिकाको न्युयोर्क प्रस्थान गरेका थिए । महासभामा सहभागी भएपछि दाहाल त्यतैबाट असोज ६ गते चीन गएका थिए ।