काठमाडौं । गैरआवासीय नेपाली नागरिक (एनआरएन) ले नेपालमा भएको सम्पत्ति बेचेर विदेश लैजान कानुन बाधक नबन्ने देखिएको छ । गत असोज ४ गते नेपाली नागरिक तेस्रो संशोधनको नियमावली राजपत्रमा प्रकाशित भएसँगै एनआरएनले यो सुविधा पाएका हुन् ।
गृहमन्त्रालय नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्था शाखाका प्रमुख कृष्णबहादुर कटवालका अनुसार गैरआवासीय नेपालीले राजनीतिक र प्रशासनिक अधिकारबाहेक अन्य अधिकारसहितको नागरिकता प्राप्त गर्न सक्छन् । एनआरएनले सम्पत्ति बेचविखन गरेर लैजान पाउँछन् कि पाउँदैनन भन्ने जिज्ञासामा उनले भने, ‘नेपाली नागरिकता तेस्रो संशोधनले सम्पत्ति बेचविखन गरेर विदेश लैजान पाउने कल्पना गरेको छैन । राज्यले लगानी भित्रिन्छ भन्ने मात्र कल्पना गरेको छ ।’
नेपालमा भएको सम्पत्ति बेचविखचन गरेर लैजान कानुन बाधक देखिदैन नि भन्ने जिज्ञासामा व्यवस्थापन शाखा प्रमुख कटवालले भने, ‘बाधक त देखिँदैन तर, कानुन बनाउनुपर्ने अवस्था सिर्जना नहोस् भन्ने हामी कामना गरौं ।’
एफडब्लुएलडीले आइतबार नेपाली नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० को विशेषता तथा कार्यान्वयन सम्बन्धमा आयोजना गरेको छलफल कार्यक्रममा कूटनीतिक नियोगबाटै एनआरएनए नागरिकता पाइन्छ भन्ने जिज्ञासामा शाखा प्रमुख कटवालले भने, कूटनीतिक नियोगले निवेदन मात्र लिन्छ, सम्बन्धित जिल्लामै नागरिकता लिन जानुपर्छ । आफू वा आफ्ना पितापुर्खा जन्मेको स्थानमा नागरिक लिने व्यक्तिको पाइला परोस् भनेर यो व्यवस्था राखिएको कटवालले स्पष्ट पारे ।
नियमावली आएपछि नागरिकता वितरण गर्न मुख्यतः दुईवटा विषयमा जटिलता आएको उनले बताए । बच्चाको विदेशी बाबु नभएको अवस्थामा वितरण हुने नागरिकता र २०६३ साल यता अंगिकृत नागरिकका सन्तानलाई नागरिकता प्राप्त गर्न केही कठिनाइ भएको शाखा प्रमुख कटवालको भनाइ थियो ।
प्रतिक्रिया