काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई अभियन्ता भन्न रुचाउने इशान अधिकारी उर्फ ईः लगायतका केही युवाको धर्नामा राजनीतिक स्वार्थ जोडिएको आशंका गरेका छन् ।
कांग्रेस महामन्त्री गगन थापाले लोकतन्त्रमा जवाफदेहीता हुनुपर्ने भन्दै बालेनसँग वार्ताको लागि आग्रह गरेका थिए । त्यसकाे जवाफ दिँदै मेयर शाहले आफूले उनीहरुको कुरा सुन्न खोज्दा संवादमा नआएको बताएका छन् ।
उनले अभियन्ताहरुको उद्देश्य राजनीतिक रहेको आशंका गर्दै उनीहरुको नेतासँगै वार्ता गर्नुपर्ने हो ? भनी प्रश्न गरेका छन् । ‘उहाँहरुको कुरा सुन्न उहाँहरु उभिरहेको ठाउँमा म आँफै गएर वार्ता गरौं याँहाहरुको कुरा र समस्या सुनौं भन्दा अभियनताहरु संवादमा बोलाउदा आउन खोज्नु भएन । लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौ, सायद कुनै राजनितिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौ । के वार्ता हामीले उहाँहरुको नेतासँग गर्न पर्ने ?’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
काठमाडौंका सडक व्यापारीको पक्षमा केही दिनदेखि अभियन्ता भनिने ईःसहित केही व्यक्ति सभागृहअघि उभिएर धर्ना दिइरहेका छन् ।
अभियन्ताहरुले आफूहरुलाई नगर प्रहरीले समय नै नदिई हप्काउने शैलीमा मेयर भएठाउँमा बोलाएको र आधा घण्टा समय माग्दा मेयरको समय छैन भनेर हिँडेको दावी गरेका छन् ।
प्रतिक्रिया