ओखलढुंगा सुनकोशी गाउँपालिका अध्यक्ष तामाङलाई लन्डनमा नेल्सन मन्डेला लिडरसिप अवार्ड

ओखलढुंगा सुनकोशी गाउँपालिका अध्यक्ष तामाङलाई लन्डनमा नेल्सन मन्डेला लिडरसिप अवार्ड


ग्लोब नेपाल
4k
Shares

काठमाडौं । ओखलढुंगा जिल्लाको सुनकोशी गाउँपालिका अध्यक्ष कमल तामाङ बेलायतको अक्सफोर्ड युनिर्भसिटीले प्रदान गर्ने ‘नेल्सन मन्डेला लिडरसिप अवार्ड २०२३’ बाट सम्मानित भएका छन् । अक्सफोर्ड युनिर्भसिटीमा सेप्टेम्बर २७ का दिन आयोजना भएको ‘ग्लोबल पिस समिट’ मार्फत अध्यक्ष तामाङ अवार्डले सम्मानित भएका हुन् । यो अवार्ड पाउने तामाङ सम्भवतः नेपालकै पहिलो हुन् ।

अक्सफोर्डले विभिन्न विधाका व्यक्तित्वहरुलाई प्रत्येक वर्ष यो अवार्डले सम्मान गर्दछ। भारतको ‘एनआरआई वेल्फेयर अफ इन्डिया’ ले गरेको सर्वेक्षणमा तामाङ नेपालबाट उक्त अवार्डका लागि छनोट भएका हुन् ।

अवार्ड ग्रहण गरेपछि लण्डनमा रहेका अध्यक्ष तामाङले टेलिफोनमा ग्लोब नेपालसँग भने, ‘थप जिम्मेवारी महसुस भएको छ । अब म बेलायतको स्थानीय तहको बजेट र विकासको मोडलबारे केही अध्ययन गरेर फर्किन्छु । बेलायतबाट सिकेका कुरा म आफ्नो गाउँपालिकामा लागू गर्ने प्रयास गर्छु ।’ देशले नदेख्ने अन्तर्राष्ट्रिय जगतले देख्ने के काम गर्नुभयो भन्ने ग्लोब नेपालको जिज्ञासामा अध्यक्ष तामाङले भने, ‘त्यो त म कसरी भन्न सक्छु र ? तर म सुनकोशी गाउँपालिकाका जनताको हितमा केही गर्न सक्छु कि भनेर निरन्तर लागिरहेँ । विशेषतः कोभिडका बेला अप्ठ्यारामा परेका जनताको सहयोगमा समर्पित भएँ । खाद्यान्न, लत्ताकपडा र औषधि मैले अमेरिकाबाट समेत झिकाएर जनताको दैलोमा पु-याएँ ।’

यो अवार्डको खुशी कोसँग सेयर गर्न चाहनुहुन्छ भन्ने जिज्ञासामा तामाङले भने, ‘यो इज्जत व्यक्तिमा सीमित रहँदैन होला, यो देशको गौरव हो । त्यत्ति हुँदाहुँदै पनि म यो खुशी ओखलढुंगेली जनता र विशेषतः सुनकोशी गाउँपालिकाका जनतासँग सेयर गर्न चाहन्छु ।’

नेपाली कांग्रेस ओखलढुंगा जिल्ला उपसभापति समेत रहेका अध्यक्ष तामाङ आफूले पाउने सम्पूर्ण तलब भत्ता सामुदायिक विद्यालयको विकासमा खर्च गर्छन्। स्थानीय निर्वाचन २०७९ मा तामाङ नेपाली काँग्रेसबाट सुनकोशी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।