विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो सरकारले जनभावना अनुसार काम गर्न नसक्ने बताएका छन् । कोसी प्रदेश अधिवेशन उद्घाटन गर्न आज विराटनगर आइपुगेका ओलीले विराटनगर विमानस्थलमा भने, “यो सरकारले केही काम गरेन । अब दलहरूले विकल्पबारे छलफल गर्दा हुन्छ ।”
ओलीले आफूहरूले सरकारमा जान नचाहेको बताए । गठबन्धन सरकार भनिए पनि कांग्रेस कहाँ छ भन्ने प्रस्ट नभएको भन्दै ओलीले सरकार अपराधीको संरक्षकजस्तो देखिएको आरोप लगाए ।
ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देशको समस्यालाई असरल्ल छाडेर लामो विदेश भ्रमणमा रमाएको भन्दै आलोचना गरेका छन् । उनले १७ दिन संसद बैठक रोकेर प्रधानमन्त्री लामो विदेश घुम्न निस्कनु कुनै पनि हिसाबले सोभनीय हुन नसक्ने बताए ।
‘संसद १७ दिनसम्म स्थगित गरेर प्रधानमन्त्री घुम्न निसकनु भएको छ । दुई साताको प्रधानमन्त्रीको भ्रमण भनेको यो साधारण होइन, कार्यकारी सरकार प्रमुख त्यस्तो फुर्सदिलो हुने शोभनीय कुरै होइन’, ओलीले भने । उनले सत्ता साझेदार दल नेपाली कांग्रेसमा देशप्रतिको चिन्ता नभएको भन्दै तत्काल सरकार परिवर्तनको सम्भावना आफूले नदेखेको पनि बताए । ‘कांग्रेसमा देशप्रतिको चिन्ता छैन । उ बेग्लै संसारमा छ’, ओलीले भने ।
ओलीले प्रदेश अधिवेशनका क्रममा आफूले कसैलाई भोट दिन नभनेको दाबी गरेका छन् । ‘केपी ओलीले भनेको कार्यकर्ताले मानेनन् भन्ने सन्देश दिन खोजिएको भन्दै असन्तुष्टि जनाए । केही सञ्चार माध्यम र विरोधीहरुले कार्यकर्ताको नाममा आफ्नो इच्छा थोपर्न खोजेको भन्दै उनले भने, ‘न मैले फलानालाई भोट दिनू, फलानालाई नदिनू भनेको छु, न कार्यकर्ताले नमानेको स्थिति छ ।’
आफूले सके सर्वसम्मति गर्नुस्, नसके स्वस्थ प्रतिस्पर्धा गर्नुस् मात्र भन्ने गरेको ओलीले बताएका छन् ।
प्रतिक्रिया