काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका–३२ स्थित जडिबुटीमा रहेकाे अरनिको यातायात प्राइभेट लिमिटेडले बनाएको बसपार्क नभत्काउन अल्पकालीन आदेश दिएको छ ।
शुक्रबार न्यायाधीश गोकर्ण डाँगीको एकल इजलासले उक्त बसपार्क नभत्काउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको हाे ।
‘…निवेदक कम्पनीले बसपार्क सञ्चालनका लागि व्यक्तिहरुको निजी जग्गा भाडामा लिई निर्माण गरेका संरचनाहरुलाई तोडफोड गर्ने तथा भत्काउने कार्य नगर्नु नगराउनु भनी मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८(२)(ख) तथा उच्च अदालत नियमावली, २०७३ को नियम ४२(१)(क) बमोजिम विपक्षीहरुका नाममा अल्पकालीन अन्तरिम आदेश गरिदिएको छ । आदेशको जानकारी विपक्षीहरुलाई दिनु’ सुनुवाइमा भनिएको छ ।
आदेश जारी नपर्ने आधार, कारण र प्रमाण भए सबुद प्रमाण सहित म्याद, सूचना पाएका मितिले बाटाकाे म्याद बाहेक १५ दिन भित्र आफैं वा कानुन बमोजिमको वारेस मार्फत लिखित जवाफ पेश गर्न समेत अदालतले महानगरलाई भनेको छ ।
काठमाडौं महानगरपालिकाले पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको बसपार्क सञ्चालन गर्न नदिने भन्दै अटेर गरे भत्काउने चेतावनी दिएको थियो ।
प्रतिक्रिया