काठमाडौं । सुवासचन्द्र नेम्वाङको निधनपछि उनी निर्वाचित भएको इलाम निर्वाचन क्षेत्र नं.–२ रिक्त भयो । यो रिक्त निर्वाचन क्षेत्रमा नियमानुसार ६ महिनाभित्र उपनिर्वाचन हुनेछ । निर्वाचन आयोगले तिथिमिति तोकेको छैन, यद्यपि उम्मेदवार को–को बन्दैछन् भन्ने चर्चाले माहोल राम्रै तातेको छ ।
गत निर्वाचनमा नेपाली कांग्रेसका डम्बर खड्कासँग ११४ मतान्तरले नेम्वाङ नेकपा एमालेबाट निर्वाचित भएका थिए । अहिले यो निर्वाचन क्षेत्रमा स्वतन्त्र पार्टीको खासै चर्चा छैन, त्यसैले अब हुने उपनिर्वाचनमा गठबन्धन र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
यो निर्वाचन क्षेत्रबाट एमालेले एकैपटक ३ वटा शिकार गर्ने योजना बनाएको बुझिन्छ । पहिलो, कोशी प्रदेशमा एमाले सरकार स्थापित गर्ने, दोस्रो, एकीकृत समाजवादी पार्टी टुक्राउने र तेस्रो, माधव नेपाललाई प्रधानमन्त्री बन्न रोक्ने, यी ३ वटा शिकार गर्ने रणनीतिमा एमाले लागेको बुझिन्छ ।
एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई इलाम–२ को उधारो टिकट दिएर एमालेले कोशी प्रदेश सरकारमा विश्वासको मत प्राप्त रणनीति लिएको छ । २ जना सांसदको अभावमा विश्वासको मत लिन रोकिएका मुख्यमन्त्री हिक्मत कार्कीका लागि बाटो खुल्नेछ । मुख्यमन्त्री कार्कीले यहि असोज २० गतेभित्र विश्वासको मत लिइसक्नु पर्ने बाध्यता छ । एकीकृत समाजवादीले पार्टीगत निर्णय नगरेको खण्डमा झलनाथ खनालका दुई सांसद कमलप्रसाद जबेगु र खिनु लङ्वाले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत हाल्न सक्ने अनुमान गरिएको छ ।
एकीकृत समाजवादी राष्ट्रिय पार्टी नभएकाले ह्वीप उल्लंघन हुँदा दल विभाजनमा अर्थ राख्दैन । यो पहिलो मिसन सफल भयो भने एकीकृत समाजवादी पार्टी फुटकको संघारमा पुग्ने छ । कांग्रेस माओवादी गठबन्धनको ध्वाँधार विरोध गर्दै आएका नेता खनाल एमाले प्रवेशका लागि खुट्टा उचालिसकेका छन् । सम्भव भए पार्टी नै एमालेमा बिलय गराउने नत्र रामकुमार झाँक्रीलगायत ठूलै समूह लिएर एमाले फर्किने तयारी खनालको देखिन्छ ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सडकमा अलपत्र पार्न जुनसुकै अस्त्र चलाउन एमाले अध्यक्ष केपी शर्मा ओली तयार छन् । यो अस्त्र ठाउँमै लाग्ने र संसदमा ठूलो दल बन्ने सपना अध्यक्ष ओलीले देख्न थालिसकेका छन् । हिजोआज सरकारविरुद्ध उनका आवाज बुलुन्द हुन थालेको त्यसैको संकेत मान्नेहरु राजनीतिक वृत्तमा धेरै छन् । एमालेको कोशी प्रदेश अधिवेशन उद्घाटन गर्न आज विराटनगर पुगेका ओलीले विराटनगर विमानस्थलमा अब सरकार परिवर्तनको बारेमा छलफल गर्नुपर्छ भन्ने अभिव्यक्ति दिएका छन् ।
यहि रणनीतिबाट एकीकृत समाजवादी फुट्यो भने एमालेलाई पार्टीगत फाइदा मात्र होइन, अध्यक्ष ओलीको व्यक्तिगत चाहना पनि पूरा हुनेछ । यदि प्रचण्डपछि माधव नेपाल प्रधानमन्त्री भए भने संसदीय व्यवस्थाको उपहास त हुने नै छ, त्योभन्दा बढी अध्यक्ष ओली मरेतुल्य हुनेछन् । तसर्थ, जुनसुकै मुल्य चुकाएर भएपनि ओली नेपाललाई रोक्न लागिपरेका छन् ।
इलाम–२ निर्वाचन क्षेत्रलाई उपयोग गरेर कोशी प्रदेशमा एमालेको सरकार स्थापित गर्ने, एकीकृत समाजवादीलाई फुटाएर माधवकुमार नेपाललाई सडकमा ल्याउने र एमालेभित्र बिग्रेको सन्तुलन लिकमा ल्याउने कसिलो रणनीतिमा एमाले अध्यक्ष ओलीले लागेको विश्लेषण गरिएको छ । आज शुक्रबारबाट सुरु भएको कोशी प्रदेश अधिवेशनले ओलीको यो रणनीतिमा थप मलजल गर्ने एमालेवृत्तमा चर्चा छ । हेरौं अध्यक्ष ओलीको यो रणनीति कति सफल हुन्छ, त्यसका लागि केही दिन कुर्नुपर्ने नै हुन्छ ।
प्रतिक्रिया