काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारबाट पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाउने प्रस्ताव गरेका छन् । आइतबार कांग्रेस रुपान्तरण अभियानले काठमाडौंमा गरेको कार्यक्रममा उनले प्रचण्ड र माधव नेपालले सरकारको नेतृत्व गर्दा समाजवादी मोर्चालाई एक्लै सरकार चलाउन दिनुपर्ने प्रस्ताव गरेका हुन् ।
उनले दुई वर्ष सरकार बाहिरै बसेर समर्थन गर्न प्रस्ताव गरेका हुन् । ‘म त के प्रस्ताव गर्छु भने यो दुई अढाइ वर्ष उहाँहरुले सरकार बनाउने कुरा छ । पहिला प्रचण्ड र त्यसपछि माधव नेपाल, एउटै मोर्चा छ, पार्टी एउटै बनाउने भन्नुभएको छ । मलाई लाग्छ भने कांग्रेसका सबै मन्त्री फिर्ता बोलाऔं’ उनले भने ।
सहमतिअनुसार प्रचण्डजी वा माधव नेपाल जो प्रधानमन्त्री भएपनि मोर्चालाई सरकार चलाउन दिने उनले बताए । मोर्चापछि कांग्रेसको भागमा परेको बेलामा मोर्चाको समर्थनमा कांग्रेस एक्लैले चलाउन पाउनुपर्ने उनको भनाइ छ । त्यसो गर्दा आआफ्नो सरकारको बेलामा भएको जस अपजस आआफ्नै पार्टीले पाउने उनले बताए ।
उनले संघमा मात्रै नभएर प्रदेशमा पनि गठबन्धनभित्र नयाँ ढंगबाट जानुपर्ने बताए। आगामी निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन नगर्ने प्रष्ट पारे ।


प्रतिक्रिया