एमाले कोशी अधिवेशन : अझै हुन सकेन मतगणना

एमाले कोशी अधिवेशन : अझै हुन सकेन मतगणना



विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशनबाट नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु हुन अझै सकेको छैन । हिजो राती १० बजेदेखि सुरु भएको मतदान आज बिहान ५ बजेसम्ममा सकिएको थियो ।

मतदानपछि निर्वाचन कमिटी पदाधिकारी तथा उम्मेदवारहरु थाकेको भन्दै दिउँसो १ बजेपछि मतगणना गर्ने सहमति भएको थियो । तर, आवश्यक तयारी नभएको भन्दै मतगणनाका लागि समयसीमा चार बजेलाई सारिएको छ ।

रातभर भएको मतदानमा ९७७ मत खसेको छ । अधिवेशनमा ९९७ जना मतदाता थिए । अधिवेशनबाट अध्यक्षका लागि दुई नेता विनोद ढकाल र घनश्याम खतिवडाबीच चुनावी प्रतिस्पर्धा छ ।

विराटनगरस्थित होटल मनास्लु इनमा १२ गतेदेखि जारी अधिवेशनका नेतृत्व सहमतिमा चयन गर्ने प्रयास भएको थियो । तर, नेताहरूबीच सहमति नहुँदा मतदानमा जानु परेको हो ।

अधिवेशनबाट ५ पदाधिकारीसहित २१५ सदस्यीय समिति निर्माण हुनेछ । त्यसका लागि ४ सय ५० जनाको उम्मेदवारी परेको थियो । जसमध्ये उपाध्यक्षमा टिकाराम चेम्जोङ निर्विरोध चयन भइसकेका छन् ।

सचिवमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामाबीच प्रतिष्पर्धा छ । दुई जना उपसचिवमा झापाकी जलवर्षा राजवंशी, मोरङका खेमराज नेपाली, खोटाङका देवान राईबीच प्रतिस्पर्धा छ ।