काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार गैरजिम्मेवार देखिएको बताएका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै ओलीले अहिलेको गठबन्धन र सरकार गैरजिम्मेवार देखिएको बताए ।
‘वास्तवमा यी सरकार चरम अनुत्तरदायी र गैरजिम्मेवार देखिएको छ, स्वेच्छाचारी देखिउको छ,’ ओलीले भने, ‘विकास विरोधी देखिएका छन् । चलिरहेका आयोजना रोकिएका छन् । काम सकेकालाई भुक्तानी दिइएको छैन ।’
ओलीले सुन तस्करी, सुशासनलगायतका विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको आलोचना गरेका छन् । सुन तस्करीमा संलग्नहरूलाई पक्राउ नगरेको भन्दै ओलीले गृहमन्त्री श्रेष्ठमाथि प्रश्न उठाएका हुन् ।
उनले मुलुकमा सुशासन नभएको भन्दै गृहमन्त्रीको सुशासन अभियान तस्कर र हत्यारा संरक्षणमा केन्द्रित रहेकाे समेत बताए ।
ओलीले गृहमन्त्री श्रेष्ठले हेटौंडामा दिएको अभिव्यक्तिलाई लिएर पनि आलोचना गरेका हुन् । ‘साढे ९ किलो सुन भेपमा पक्राउ पर्छ तपाईं ढाकछोप गर्न लाग्नुहुन्छ । १ सय किलो सुन बरामद हुन्छ,’ उनले भने, ‘छानबिन गर्दा के बिग्रिन्थ्यो ? महासय तपाईं किन आत्तिनुभयो स्वतन्त्र निष्पक्ष छानबिनसँग ?’
सुशासन अभियान नभएर सरकारको काम भएको ओलीको भनाइ थियो । सरकारले सुशासनको अभियान चलाएको भन्न नहुने पनि बताए । ‘सुशासन सरकारले निरन्तर कायम गर्ने हो कि अभियान हो ? सुशासन भनेको सरकारको नियमित कर्तव्य हो,’ उनले भने, ‘सुशासनको अभियान चलाएको त्यसलाई रोक्न विरोधी लाग्या छन् भनेर हेटौंडामा उधुम खोक्नुभयो ।’
एसिड आक्रमणकारीलाई कारबाही गर्न आफू प्रधानमन्त्री भएका बेला अध्यादेश ल्याएको स्मरण गर्दै ओलीले एसिड आक्रमणकारीलाई कडा कारबाहीको प्रबन्ध गरिएको बताए ।
‘एसिड आक्रमणमा परेकी मुस्कान खातुनको घाउ निको भएको छैन। चार वर्ष नहुँदै सरकारले एसिड आक्रमणकर्तालाई छाडिसक्यो,’ ओलीले भने, ‘अहिले उनी रोएर हिँडेकी छन् । पीडितलाई सरकारले उपचार दिन सकेको छैन ।’
संविधान दिवसका अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ज्यान मुद्दामा सजाय पाएका नेपालगञ्जका योगराज ढकाल रिगलको कैद माफी गरिदिएकाे सम्बन्धमा ओलीले प्रश्न उठाएका छन् ।
‘एउटा दिनदहाडै बजारमा लखेटी लखेटी खुँडाले काटी काटी मारेको मान्छेलाई २० वर्ष कैद गरेको छ । दुई चार वर्ष बसेपछि छोडिन्छ’, ओलीले भने, ‘नेपालगञ्ज आतंकित छ । पीडित परिवार आतंकिंत छ । यस्ता मान्छे छानी छानी किन पुरस्कृत गरिन्छ ? किन सम्मानित गरिन्छ ।’


प्रतिक्रिया