चाडपर्वमा कृत्रिम अभाव सिर्जना गरे कारबाही गर्ने सरकारको चेतावनी

चाडपर्वमा कृत्रिम अभाव सिर्जना गरे कारबाही गर्ने सरकारको चेतावनी



काठमाडौं । सरकारले चाडपर्वमा खाद्य तथा गैरखाद्य वस्तु कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले अस्वभाविक मूल्यवृद्धि गर्दै वस्तु बिक्री वितरण गर्ने जस्ता अनुचित कार्य नगर्न/नगराउन सम्पूर्ण उद्योगी व्यवसायीको ध्यानाकर्षणसमेत गराएको छ ।

बैठकले बजारमा कृत्रिम अभाव सिर्जना गर्ने र नाफाखोरी गर्ने व्यक्तिलाई कानूनबमोजिम कडा कारबाहीका लागि कोही कसैसँग सूचना भए हेलो सरकार, वाणिज्य विभागको पोर्टल वा टोल फ्रि नम्बर ११३७ मा सूचना दिनपनि आग्रह गरेको छ ।

त्यस्तै बैठकले उपभोग्य वस्तुको बिक्री वितरणसँगै सम्बन्धित सार्वजनिक निकायले तत्काल देशभर शपथ मूल्यका पसल सञ्चालन गर्ने, बजार अनुगमनका लागि स्थापित सम्पूर्ण संयन्त्रलाई थप सक्रिया र क्रियाशील बनाइ बजार अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।

बैठकले कृत्रिम अभाव सिर्जना गर्ने, अस्वभाविक नाफाखोरी गर्ने र अस्वभाविक मूल्यवद्धि गरी कालोबजारी संलग्न हुने जो कोहीलाई प्रचलित कानून बमोजिम कडा कारबाही गर्ने र सोको प्रतिवेदन सर्वसाधारण सबैको जानकारीका लागि सम्बन्धित निकायबाट दैनिक रुपमा संप्रेषित गर्न निर्देशन दिएको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले मन्त्रिपरिषद्को बैठकले विशेष अदालत सम्बन्धी नियमावली, २०८० स्वीकृत गर्ने, व्यवस्थापन तथा नियमन विधेयक, २०८० संघीय सरकारमा पेस गर्ने स्वीकृति दिने, शहीद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० पनि संघीय सरकारमा पेस गर्न स्वीकृति दिने निर्णयसमेत गरेको जानकारी दिइन् ।