याे सरकार रहेसम्‍म देश कमजोर हुन्छ : शेखर कोइराला

याे सरकार रहेसम्‍म देश कमजोर हुन्छ : शेखर कोइराला

नसच्चिने भए छाडे हुन्छ



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार रहिरहे सबै रुपमा राष्ट्र कमजोर हुने बताएका छन् ।

नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको वर्तमान सरकार रहिरहे मुलुक थप बर्बादीतर्फ जाने उनले बताएका हुन् । उनले कांग्रेसको नेतृत्वमा सरकार गठन अपरिहार्य रहेको बताए ।

कोइरालाले गठबन्धन सरकार हुँदा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एकल निर्णयले अहिले समाजमा अराजकता बढेको आरोप लगाए ।

कपिलवस्तुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अहिले कांग्रेस नेतृत्वको सरकार आवश्यक भइसकेको छ । सरकार या सच्चिनुपर्यो । या छाड्नुपर्यो अर्को विकल्प छैन । कांग्रेस नेतृत्वको सरकार आवश्यक परिसकेको छ । तर, हाम्रो साथीहरुलाई चाहिएको छैन गर्ने के ? हामी कसैको इशारामा हिँड्नु भएन । हामी हाम्रो खुट्टामा उभिएर हिँड्ने आँट गर्नुपर्छ । सरकार सच्चिनुपर्छ ।’

कोइरालाले अहिले राजनीतिक अस्थिरता, आर्थिक, सामाजिक सबै हिसाबले देश अफ्ठ्यारो परिस्थितीमा रहेको बताए । उनले प्रत्यक्ष निर्वाचन प्रणलीबाटै कांग्रेसको एकल बहुमत आउने भएकाले संविधान संशोधन गर्न आवश्यक भएको बताए । उनले समानुपातिक प्रणाली हटाएर प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने सुझाए ।

चर्को महँगीले जनताको चुलो नबल्ने अवस्थामा पुगेको उनले बताए । जनतालाई सहुलियत दिनुपर्नेमा चाडपर्वको मुखमा दैनिक उपभोग्य वस्तुहरुको भाउ बढ्नु राम्रो संकेत नभएको कोइरालाले बताए ।

पार्टीभित्रको आन्तरिक विषयमा बोल्दै नेता कोइरालाले सभापति शेरबहादुर देउवाले विधि सम्मत पार्टी सञ्चालन नगर्दा कांग्रेस अप्ठ्यारोमा परेको बताए ।

सभापति देउवासँग व्यक्तिगत रुपमा आफ्नो कुनै रिसराग नभएको बताएका कोइरालाले भने, ‘पार्टी भित्र दुर–दराजका इमानदार, निष्ठावान र सक्रिय साथीहरूको मूल्यांकन हुनसकेको छैन, त्यसैले कांग्रेसको जग नै कमजोर हुन थालेको छ ।’