जनमत पार्टी परित्याग गरेर शिवचन्द्र कुशवाह एमालेमा प्रवेश

जनमत पार्टी परित्याग गरेर शिवचन्द्र कुशवाह एमालेमा प्रवेश



काठमाडौं । जनमत पार्टी परित्याग गरेर शिवचन्द्र कुशवाह नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्र छाडेर जनमत पुगेका उनी एमालेमा प्रवेश गरेका हुन् ।  

गत १० वैशाखमा भएको प्रतिनिधिसभाको उपनिर्वाचनमा उनी जनमत पार्टीबाट बारा २ मा उम्मेदवार बनेका थिए ।  बिहीबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनलाई स्वागत गरेका हुन् ।

पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माओवादीका नेता कार्यकर्ताले आफूसँगको भेटमा गुनासो पोख्ने गरेको बताएका छन् । उनले माओवादीसँग कुनै नीति नभएको दाबी गरे ।

उनले भने, ‘माओवादीले नराम्रोबाहेक केही गरेका छैनन् । माओवादीका नेता कार्यकर्तासँग भेट गर्दा मसँग पीडा पोख्छन् । छोरी ज्वाइँ, भाइ भतिजा भान्छ सप्रेका छन् माओवादी नेता कार्यकर्ता पीडित भएर तड्पिएका छन् । तीनले गरेको योगदान सम्झिन पनि फुर्सद छैन । यिनीहरुसँग कुनै नीति छैन ।’

उनले भने, ‘कांग्रेस र हामी सँगसँगैको पार्टी हौं । तर, कांग्रेस साँच्चै पुरानो भयो । केही पनि गर्न नसक्ने । ८७ सीट छ तर ३२ सीटको पछाडि लुरुलुरु लागेको छ । निरीह भएको छ । आफूसँग कति सीट छ पनि चाल पाउँदैनन् । माधव नेपालले भन्नु त ठीक हो । जेसुकै गल्ती गरेपनि कांग्रेसपछिको सरकार सोच्न सकिँदैन । हामी कांग्रेसकै पछि लाग्छौं । माधव नेपाललाई त सुहाउँछ । तर, कांग्रेस चाहिँ ३२ सीटको पछाडि किन लागेको छ ।’