काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी मानवअधिकारकर्मी नर्गिस मोहम्मदीलाई दिइएको छ । ५१ वर्षीया नरगिसलाई इरान सरकारले अहिले जेलमा राखेको छ । उनलाई तेहरानस्थित कुख्यात इभिन कारागारमा राखिएको छ ।
इरानमा महिलाहरुमाथि हुने दमनविरुद्ध संघर्ष गरेको र सबैको मानवअधिकारको रक्षाका लागि पहल गरेकोमा उनलाई यो पुरस्कार दिने निर्णय गरिएको नोबेल पुरस्कार समितिले जनाएको छ । नोबेल पुरस्कार समितिले उनलाई ‘फ्रिडर फाइटर’को संज्ञा दिएको छ, र छिट्टै जेलमुक्त गर्ने विश्वास समेत व्यक्त गरेको छ । पुरस्कार आगामी १० डिसेम्बरमा वितरण हुनेछ ।
नरगिसले पत्रकारका रूपमा इरानमा लामो समय काम गरेकी छिन् । उनले पत्रकारितामार्फत महिलामाथि भएका थिचोमिचोविरुद्ध आवाज उठाउँदै आएकी थिइन् । उनलाई यसै वर्ष संयुक्त राष्ट्र संघले प्रेस स्वतन्त्रता पुरस्कार प्रदान गरेको थियो । नरगिससहित इरानी अन्य दुई पत्रकार निलोफर हमिदी र एलाहेह मोहम्मदीलाई राष्ट्र संघले गत मेमा प्रेस स्वतन्त्र पुरस्कार दिएको थियो ।
पटक-पटक विभिन्न मुद्दामा जेल परेकी नरगिस पछिल्लो पटक भने राष्ट्रिय सुरक्षामाथि आँच आउने र राज्यविरुद्ध दुष्प्रचार गरेको आरोपमा उनी जेल परेकी हुन् । नर्गिसलाई इरानको सत्ताले १३ पटकसम्म पक्राउ गरिसकेको छ । ५ पटक दोषी ठहर्याएको छ । ३१ वर्ष जेल सजाय र १५४ पटक कोर्रा हान्ने आदेश भएको छ ।


प्रतिक्रिया