काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले उपत्यका विशेष प्रथम अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि आग्रह गरेका छन् । अघिका प्रदेश अधिवेशनलाई लिएर विपक्षीहरूले टीकाटिप्पणी गर्ने अवसर पाएको भन्दै अध्यक्ष ओलीले सर्वसम्मतीको प्रयास गरेर अगाडि बढ्न आग्रह गरेका हुन् ।
आज अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले प्रतिस्पर्धामा गएपछि एउटाको जित र अर्कोको हार हुँदा हार्नेको मन दुख्ने बताए । मन नदुखाउनका लागि सर्वसम्मत नेतृत्व चयननै उत्तम विकल्प रहेको उनको भनाई छ ।
अघि भने, ‘यहाँ प्रतिस्पर्धा जितेर के–के न ठूलो कुरो पाइने होइन । फेरि सबैले जित्ने होइन, एउटाले जित्छ । अर्काले हारेपछि मन दुख्छ । सहमति गर्यो भने मन दुख्दैन ।’
यस अघि विभिन्न प्रदेशमा सम्पन्न भएको अधिवेशनमा पनि सकभर सहमतिको प्रयास र कुरा मिलेन भने स्वस्थ प्रतिस्पर्धा गर्नुस् भन्दा विपक्षी र सञ्चार माध्यामहरुले लडे, भिडे भनेर गलत सन्देश प्रवाह गरेको भन्दै उनले उपत्यका विशेष प्रदेशले सर्वसम्मतिमै नेतृत्व चयन भयो भन्ने सन्देश दिनुपर्ने बताएका हुन् ।
अध्यक्ष ओलीले सामाजिक जागरण, अन्योल चिर्नका लागि हस्तक्षेप गर्नु आवश्यक रहेको बताए ।
“सामाजिक सञ्जालमा सक्रियता, हस्तक्षेप आवश्यक छ,” उनले भने, “साथीहरुको फेसबुकमा कामका कुरा, ज्ञानका कुरा केही लेखेको छैन । चिनेका साथीहरुको फेसबुक हेर्यो, कामको कुरा केही छैन । यस्तो हस्तक्षेप होइन, जगारणका लागि, भ्रम, अन्योल चिर्नका लागि हस्तक्षेप । अगाडि बढ्ने उपाय, पार्टी युनिटी, पार्टीमाथिको प्रहार रोक्नका लागि हस्तक्षेप आवश्यक छ ।”
उनले चेतना अभिवृद्धिका लागि सामाजिक सञ्जालमा सक्रिय रहन आग्रह गरे । ओलीले बेठिकका विरुद्ध, ठिकका पक्षमा हस्तक्षेप गर्न निर्देशन दिए ।


प्रतिक्रिया