धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको प्रथम अधिवेशन आज उद्घाटन भइरहेकाे छ । अधिवेशन उद्घाटनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल लगायतका नेता धनगढी पुगेका छन् । तर सुदूरपश्चिमका प्रभावशाली नेता तथा एमालेका पूर्व उपाध्यक्ष समेत रहेका नेता भीम रावललाई भने उनकै गृह प्रदेशको अधिवेशनमा आमन्त्रण गरिएन ।
आफू गृह जिल्ला अछाममै भएकाे तर अधिवेशनबारे कसैले जानकारी नगराएको कारण नगएकाे नेता रावलले बताएका छन् ।
गत निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएपछि रावल एमालेको राजनीतिमा सक्रिय छैनन् । उनी पार्टीको कुनै जिम्मेवारीमा पनि छैनन् ।
अधिवेशनमा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने पार्टी पदाधिकारी, स्थायी कमिटी सदस्य, पोलिटब्युरो र केन्द्रीय सदस्यहरू सबैलाई खबर गरिएको थियाे । रावललाई अधिवेशनमा नबोलाइए पनि नेतृत्व चयनमा उनकाे ‘फ्याक्टर’ले काम गर्ने अनुमान गरिएकाे छ ।
अछामकै एक नेताका अनुसार पार्टी अध्यक्ष ओली र उनी निकटहरूले नस्वीकारे पनि सुदूरपश्चिमको पार्टी राजनीतिमा भीम रावलको ठूलो प्रभाव छ ।
सुदूरपश्चिम प्रदेश अधिवेशन आफ्नो पक्षमा पार्न कर्ण थापाले २०५४ सालका जिविस सभापति रहेका कृष्णप्रसाद जैसीलाई अघि सारेका छन् । पार्टी नेतृत्व पनि कृष्णप्रसाद जैसीलाई सर्वसम्मत अध्यक्ष बनाउन चाहेकाे छ ।
जैसीको उम्मेदवारीविरूद्ध अछामकै कमल तिमिल्सिनालाई भीम रावल पक्षधरहरूले अघि सार्ने तयारी गरेका छन् ।
रावल पक्षबाट झपट रावल, प्रकाश शाह, तारा लामा तामाङ, दयालबहादुर शाहीलगायत नेता नेतृत्व चयन आफ्नो पक्षमा पार्न खटिएका छन् ।
५३ हजार ५०० प्रतिनिधिमध्येबाट ६५७ जना प्रतिनिधि छानिएर अधिवेशनका लागि धनगढी आएका छन् । आज उद्घाटन सत्र सकिएपछि साँझैबाट बन्दसत्र सुरू हुने र सोमबारबाट नेतृत्व चयन प्रक्रिया आरम्भ हुने बताइएकाे छ ।
प्रतिक्रिया