स्टकहोम । महिलाको श्रम बजारका योगदानबारे गरिएको खोजका लागि अमेरिकी हार्वर्ड विश्वविद्यालयकी प्राध्यापक क्लाउडिया गोल्डिनलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ ।
स्वीडेनको स्टकहोमस्थित रोयल स्वीडिस एकेडेमी अफ साइन्सेजका महासचिव हान्स एलेग्रेनका अनुसार सोमबार घोषणा गरिएको पुरस्कार विजेता गोल्डिन अर्थशास्त्रतर्फको विधामा पुरस्कृत तेस्रो महिला हुन् ।
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार लागि गठित समितिका अध्यक्ष ज्याकोब स्वेन्सनले भने, “श्रम बजारमा महिलाको भूमिकालाई बुझ्नु समाजका लागि महत्वपूर्ण छ । क्लाउडिया गोल्डिनको आधारभूत अनुसन्धानबाट हामी अब अन्तर्निहित कारकहरूको बारेमा धेरै बुझ्न सक्नेछौँ । यसले भविष्यमा हुने महिला श्रम कठिनाईलाई सम्बोधन गर्न आवश्यक सहयोग पुग्नेछ ।”
पुरस्कार प्राप्त गरेपछि ७७ वर्षीय गोल्डिनको प्रतिक्रियाबारे एलेग्रेनले भने, “उहाँ पुरस्कार प्राप्त गर्दा आश्चर्यचकित र अत्यधिक खुशी हुनुभएको छ ।”
“क्लाउडिया गोल्डेनको खोजले महिला श्रम बजारमा व्यापक सामाजिक प्रभाव पार्छ,” पुरस्कार समितिका सदस्य र्यान्डी हजलमार्सनले भने, “अन्ततः समस्यालाई बुझेर र यसलाई सही नामले पुकारेर, हामी अझ राम्रो तरिकाले अगाडि बढ्न सक्षम हुनेछौं ।”
यसअघि चिकित्सा, भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य र शान्ति विधाका लागि पुरस्कारहरू गत साता घोषणा गरिसकिएको छ । सन् १९६८ मा स्वीडेनको केन्द्रीय बैंकले स्थापना गरेको अर्थशास्त्र पुरस्कारलाई औपचारिक रूपमा अल्फ्रेड नोबेलको स्मृतिमा आर्थिक जगत्मा ‘बैंक अफ स्वीडेन पुरस्कार’को रूपमा चिनिन्छ ।
सन् २००७/०८ को वित्तीय सङ्कटमा अमेरिकाको आक्रामक प्रतिक्रियालाई आकार दिन मद्दत गर्ने बैंकको असफलताबारे अनुसन्धान गरेका कारण गत वर्ष फेडरल रिजर्भका पूर्व अध्यक्ष बेन बर्नान्के, डगलस डब्लु डायमन्ड र फिलिप डाइभिगले पुरस्कार जितेका थिए ।
प्रतिक्रिया