परराष्ट्र मन्त्री साउद र इजरायलका विदेश मन्त्री कोहेनबीच टेलिफोनमा कुराकानी

परराष्ट्र मन्त्री साउद र इजरायलका विदेश मन्त्री कोहेनबीच टेलिफोनमा कुराकानी



काठमाडौं । परराष्ट्र मन्त्री एनपी साउदले इजरायलका विदेश मन्त्री एली कोहेनसँग टेलिफोनमा कुराकानी गरेका छन् । मंगलबार दिउँसो परराष्ट्र मन्त्री साउदले समकक्षी कोहेनसँग कुराकानी गरेका हुन् ।

परराष्ट्र मन्त्री साउदले हमासको आक्रमणमा परी मृत्यु भएका १० जना नेपालीको शव स्वदेश ल्याउन आवश्यक समन्वय र सहजीकरण गरिदिन पनि विदेश मन्त्री कोहेनसँग आग्रह गरे ।

मन्त्री साउदले आक्रमणमा परी घाइते भएका चार जना नेपालीको स्वास्थ्य उपचार र हेरचाहमा सहयोग गरिदिन पनि इजरायल सरकारसँग आग्रह गरेका छन् । सम्पर्कबिहिन भएका एक नेपाली नागरिकको अवस्था पत्ता लगाइदिन पनि उनले आग्रह गरेका छन् ।

उनले इजरायली सेनाले सुरक्षित स्थानमा स्थनानान्तरण गरेका नेपाली नागरिकहरुलाई खानापिन लगायतका आधारभूत आवश्यकताका लागि सहयोग गरिदिन पनि मन्त्री कोहेनसँग आग्रह गरेका छन् ।

मन्त्री साउदले परराष्ट्र मन्त्रालयले इजरायलमा रहेका नेपाली नागरिकको विवरण संकलन गरिरहेको र विवरण संकलन भएपछि नेपाल फिर्ता ल्याउन सहजीकरणका लागि इजरायल सरकारसँग आवश्यक सहयोगका लागि आग्रह गरेका थिए ।

इजरायली विदेशमन्त्री कोहेनले हमास समूहलाई आतंककारीको संज्ञा दिँदै उनीहरुको आक्रमणमा परी १० जना नेपालीले ज्यान गुमाउनु परेको प्रति समवेदना व्यक्त गर्दै घाइते नेपाली नागरिकको स्वास्थ्य लाभको कामना गरे ।

इजरायल अहिले कठीन मोडमा रहेको उनले बताए। मन्त्री कोहेनले १० जना नेपाली नागरिकको शव नेपाल फिर्ती, इजरायलमा रहेका नेपालीको सुरक्षा, घर फर्किन चाहने नेपालीलाई फर्काउने विषयमा इजरायल सरकारले उच्चतम् सहयोग गर्ने बताएका छन् ।