कोशी सरकारबारे राप्रपाले शुक्रबार निर्णय गर्ने

कोशी सरकारबारे राप्रपाले शुक्रबार निर्णय गर्ने



काठमाडौं । कोशी प्रदेश सरकार गठनबारे निर्णय लिन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पदाधिकारी बैठक बोलाएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रबार बिहान ८ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरी बैठक बोलाएका हुन् ।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार कोशी सरकारबारे छलफल गरी आवश्यक निर्णय लिन बैठक बोलाइएको हो ।

राप्रपाको पछिल्लो कार्यसम्पादन समिति बैठकले नेताहरूसँग सुझाव लिई कोशी सरकारबारे निर्णय लिन सक्ने अधिकार अध्यक्ष लिङ्देनलाई दिएको थियो ।

कोशीमा मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० गते पदबाट राजीनामा दिएका थिए ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङ्गले शुक्रबार अपराह्न ५ बजेसम्मको समय दिएका छन् ।

६ जना सांसद रहेको राप्रपाको साथ लिएर सत्ता गठबन्धनले सरकार बनाउने जमर्को गरिरहेको छ । तर राप्रपाले सरकार गठनमा सहयोग गर्ने वा नगर्ने भन्ने निर्णय शुक्रबार बिहान मात्रै गर्ने भएको छ ।

९३ सदस्यीय कोशी प्रदेश सभामा आवश्यक बहुमत (४७ सांसदको समर्थन) जुटाउन नसक्दा नेकपा एमाले संसदीय दल नेता हिक्मत कार्की र नेपाली कांग्रेस संसदीय दल नेता उद्धव थापा नेतृत्वका सरकार महिना दिन नपुग्दै ढल्ने गरेका छन् ।