मोरक्को । अर्थमन्त्री डा. प्रकाश शरण महतले नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुले नाफा कमाईरहेको भन्दै कोरियन कम्पनीहरुलाई पनि लगानी गर्न आग्रह गरेका छन् । कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चु क्यूङसँगको दुई पक्षीय भेटमा अर्थमन्त्री महतले नेपालमा लगानी गरेका सबै विदेशी कम्पनीले राम्रो नाफा कमाईरहेकाले कोरियन कम्पनीलाई पनि नेपालमा राम्रो अवसर भएको बताएका थिए ।
‘नेपाल लगानी गरेका भारतीय बहुराष्ट्रिय कम्पनी डाबर, अमेरिकी बहुराष्ट्रिय कम्पनी कोकोकोला र पेप्सी, भारतीय कम्पनी आइटीसी ईण्डिया मात्रै होइन् मलेसियन टेलिकम कम्पनीले पनि राम्रो नाफा कमाइरहेका छन्,’ मन्त्री महतले कोरियन उपप्रधानमन्त्रीलाई भने,‘ हामीहरुले चालू आर्थिक वर्षको बजेटमार्फत् निजी क्षेत्रको लगानीलाई थप सहजिकरण गर्ने प्रयास गरेका छौं । आगामी दिनमा पनि निजी क्षेत्रलाई सुविधा दिने हाम्रो सोच छ । कोरियन लगानीकर्तालाई नेपालमा स्वागत गर्न हामी इच्छुक छौं ।’
नेपाल सरकारले इज अफ डुइङ विजनेसमा निरन्तर सुधार गरिरहेको भन्दै कोरियन लगानीकर्तालाई झन्झट नहुने मन्त्री महतले बताए । ‘भारत सरकारले नेपालबाट १० हजार मेगावाट विजुली खरिद गर्ने निर्णय गरिसकेको छ,’ महतले भने, ‘जलविद्युत उत्पादन, प्रशारण र वितरणलाइन, डिजिटल क्षेत्र, कृषि, पर्यटन लगायतका क्षेत्रमा नेपालमा राम्रो आम्दानी गर्न सक्ने अवसर छ ।’
नेपाली कामदारलाई कोरियामा लगेर कोरियन कम्पनीले राम्रो प्रगति गरिरहेको भन्दै मन्त्री महतले नेपालमै लगानी गरेर लाभ लिन र नेपालको आर्थिक वृद्धीमा पनि सहयोग गर्न आग्रह गरेका हुन् । ‘अहिले तपाईंहरु संघर्ष गरिरहेका देशलाई सहयोग गर्ने तहमा हुनु हुन्छ । हाम्रो देशमा पर्यटन विकासको ठूलो सम्भावना छ । तर, कमजोर सडक पूर्वाधारले समस्या भईरहेको छ,’ मन्त्री महतले भन्नुभयो, ‘निजी क्षेत्रले दीर्घकालनमा लाभ दिने सडक जस्ता क्षेत्रमा लगानी गर्दैनन् । कोरियन सरकारलाई पूर्वाधार विकासमा सहुलियतपूर्ण कर्जा, अनुदान, क्षमता विकासमा सहयोग गर्न अनुरोध छ ।’
मन्त्री महतसँगको भेटमा कोरियन उपप्रधानमन्त्रीले नेपालको पूर्वाधार विकासमा सहयोग गर्न आफूहरु तयार रहेको बताएका छन् । भेटमा कोरियन अर्थमन्त्री चु क्यूङले ६० वर्षमा कोरिया प्रतिव्यक्ति आय ८० डलरबाट ३३ हजार डलर पुर्याउने अवस्थामा पुगेको भन्दै निरन्तर प्रयास गर्दा आर्थिक वृद्धी सम्भव हुने बताए । उनले केही कोरियन लगानीमा दोहारो कर सम्बन्धी समस्या रहेको भन्दै त्यसलाई समाधान गर्न मन्त्री महतलाई आग्रह गरेका थिए । जवाफमा मन्त्री महतले दोहोरो कर सम्बन्धी समस्या समाधान गर्न आफू तयार रहेको र कोरियन लगानीलाई संरक्षण गर्ने प्रतिवद्धता व्यक्त गरे ।
मन्त्री महतले कोरियाका उपप्रधानमन्त्री महतलाई नेपाल भ्रमण गर्न आमन्त्रण गरे । उपप्रधानमन्त्री चु क्यूङले आफू नेपाल भ्रमण गर्न इच्छुक रहेको भन्दै यथासक्य छिटो एजेण्डा तय गर्न आग्रह गरे । अर्थमन्त्री महतले १२ हजार नेपालीले काम गरिरहेको कोरियाको श्रम कानून राम्रो भएको भन्दै प्रशसा गरेका थिए । भेटमा कोरियाका अर्थमन्त्रीले नेपालका जनताको जीवनस्थर सुधार गर्न आफूहरु सबै प्रकारको सहयोग गर्न प्रतिवद्ध रहेको बताए ।


प्रतिक्रिया