कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाऔं : सासद गौतम

कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाऔं : सासद गौतम



काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले देशलाई दुर्घटनाबाट बचाउन कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन माग गरेका छन् । 

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै आज सांसद गौतमले गठबन्धन सरकारले देशको अपेक्षा अनुसार काम गर्न नसकेको टिप्पणी गरे। अहिले व्यवस्था नै अप्ठेरोमा रहेका कारण राष्ट्रिय सहमतिको सरकार उत्तम विकल्प भएको उनको भनाइ छ ।

सरकारमा काम गर्ने सोच नै नरहेको समेत उनको आरोप छ । ‘खाली झण्डा हल्लाएर मन्त्रीजीहरू गएरमात्र केहि हुन् ? अहिले मुलुक एकदमै अप्ठेरोमा अवस्थामा पुगेको छ,’ उनले भने, ‘सुकुम्बासीको समस्या समाधान नगर्ने, विकास को काम नगर्ने, महँगी नियन्त्रण नगर्ने, राष्ट्रिय गौरवका आयोजना ध्वस्त पारिराख्ने र खालि सत्ताको लुछाचुँडीमा रहने हो भने …।’

प्रचण्ड नेतृत्वको सरकारको विकल्प आवश्यक रहेको बताउँदै कांग्रेस सांसद गौतम अगाडि भन्छन्, ‘यही गति र यही मतिमा चल्ने हो भने यस (सरकार)ले राम्रो परिणाम ल्याउँदैन । नेपाली जनताका अगाडि धेरै विकल्प छैन । यस्तै हो भने नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार निर्माण गरौं समयमै ।’

उनले देश दुर्घटनाको संकेत देखिएको भन्दै सबै राजनीतिक दलहरुले बेलैमा बिचार नगर्ने हो भने पछि पश्चाताप बाहेक अरु केही नरहने बताए । ‘कांग्रेस सबैभन्दा ठूलो दल हो । सबै मिलेर एकपल्ट राष्ट्रिय सरकार बनाऔं । होइन भने क्रान्ति र परिवर्तन सबै सिद्धिएर जान्छन् । त्यसले कहाँ पुर्याउँछ थाहा छैन’ उनले भने ।

राष्ट्रिय सरकार बनाएर संविधानमा आवश्यक संशोधन गर्ने, निर्वाचन प्रणाली र संघीयता कार्यान्वयनको सवालमा सोच्न आवश्यक रहेको उनले बताए । ‘होइन भने दुर्घटनालाई कसैले रोक्न सक्दैन, यो संकेत देखिइसक्यो’ उनले भने ।