प्रचण्डको रोडम्यापमा चलेपछि कांग्रेस कार्यकर्ता जताततै आक्रोशित छन् : ओली

प्रचण्डको रोडम्यापमा चलेपछि कांग्रेस कार्यकर्ता जताततै आक्रोशित छन् : ओली



प्युठान । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा मध्यावधि निर्वाचन रोक्न कांग्रेस बिद्रोहलाई समर्थन गरेको बताएका छन ।

प्युठानको बिजुवारमा नेकपा एमाले प्युठानद्वारा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले मध्यावधिमा जाँदा देशले ठूलो आर्थिक भार खेप्नुपर्ने देखिएकाले त्यसलाई रोक्न एमालेले कांग्रेस बिद्रोहलाई समर्थन गरेको बताए ।

आफूहरु जोसुकैलाई समर्थन गरेर भए पनि कोशीलाई मध्यावधिबाट जोगाउने पक्षमा रहेको सुनाउँदै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘देशको आर्थिक अवस्था नाजुक छ, मध्यावधिमा जाँदा देशलाई ठूलो खर्च हुने देखेर मध्यावधि जोगाउन कांग्रेस विद्रोहलाई समर्थन गर्‍यौं ।’

प्रचण्डको रोडम्यापमा चलेपछि कांग्रेस कार्यकर्ता जताततै आक्रोशित भएकाे उनले बताएका छन् । ‘तेस्रो भएको माओवादीलाई जताततै बोकेर हिँडेपछि सबैतिर कांग्रेसका नेता कार्यकर्ता आक्रोशित छन्, अति भएर कोशी प्रदेशमा कांग्रेसका केही साथीहरुले विद्रोह गर्नुभएको हो, कांग्रेसका नेताहरुले प्रचण्डले भनेको मात्रै गरेपछि यस्तो भएको हो, ८ सीटका पछि कांग्रेसको ह्वीप लागेपनि केही सांसदले विद्रोह गर्नुभयो’, ओलीले भने । उनले एमाले मध्यावधिमा जान तयार भए पनि, एमालेलाई मध्यावधिले फाइदा हुने भएपनि चुनावका लागि हुने देशको ठूलो खर्च रोक्न, मध्यावधिमा जान नदिन कांग्रेसको विद्रोहलाई समर्थन गरेको प्रष्ट्याए ।

कोशी प्रदेशमा नेपाली कांग्रेस शेखर कोइराला समूहका ८ जनाले विद्रोह गरेर एमालेका सांसदको समेत समर्थनमा केदार कार्की मुख्यमन्त्री भएका छन् ।

उनले केन्द्र र प्रदेशमा सत्ताका लागि भएको अपवित्र गठबन्धनको सबैतिर संघीयताको वितृष्णा जगाएको बताए । ‘कोशीमा हेर्नुस् कतिपटक किर्ते गरे, कति प्रदेशमा भागवण्डा पुर्याउन मन्त्रालय थपे, को को लाई कानून विपरीत नियुक्त गरे, अनि यो प्रणालीमाथि वितृष्णा फैलिँदै गएको हो, यो सत्तारुढ गठबन्धनकै कारण भएको हो’, ओलीले भने ।