यस्तो छ गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था

यस्तो छ गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था



काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे ‘पेकिंग युनियन मेडिकल कलेज अस्पताल, बेइजिङ’ले बिहीबार  दिउँसो ‘मेडिकल सर्टिफिकेट’ जारी गरेको छ ।

श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फेक्शन’ भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ‘ओब्टस मार्जिनल शाखामा अवरोध देखिएको अस्पतालले जनाएको छ । उनकाे मुटुको बायाँ धमनीमा महत्त्वपूर्ण ‘स्टेनोसिस’ देखिएको र  त्यसलाई कम गर्न तुरुन्तै  ‘स्टेन्ट’ राखिएको समेत अस्पतालले जनाएको छ । 

श्रेष्ठ अहिले निरन्तर निगरानी र उपचारका लागि मेडिकल आईसीयूमा रहेका र उनी स्थिर अत्यावश्यक संकेतहरूका साथ पूर्ण रूपमा सचेत रहेका पनि अस्पतालले जनाएको छ ।

‘तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)’मा सहभागी हुन चीनको बेइजिङ पुगेका  उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुधबार राति १ बजे हृदयघात भएको थियो । 

चिनियाँ सरकार र पार्टीका उच्च अधिकारीहरूले उच्चतम प्रविधि अपनाउन र उनको उपचारमा विशेष ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् ।