राष्ट्रसंघका महासचिवले नेपालको संसद्‌मा सम्बोधन गर्ने

राष्ट्रसंघका महासचिवले नेपालको संसद्‌मा सम्बोधन गर्ने



काठमाडौं । इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासको आक्रमणपछि स्थगित गरिएको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसको नेपाल भ्रमण हुने भएको छ ।

राष्ट्रसंघका महासचिव गुटेर्रेसले यही कात्तिक १२ देखि १५ गतेसम्म गर्ने नेपाल भ्रमणको औपचारिक कार्यक्रम बिहीबार (हिजो) बसेको मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत गरिएको छ ।

नेपाल बसाइका क्रममा उनले यहाँको संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने कार्यक्रम तय छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संघीय संसद् सचिवालयलाई पत्राचार गरी महासचिव गुटेर्रेसले कात्तिक १४ गते अपराह्न ४ बजे सम्बोधन गर्ने जानकारी गराएको छ । त्यसका निम्ति आवश्यक व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

सोसम्बन्धी व्यवस्था मिलाउन अनुरोध गरिएको पत्र प्राप्त भएको संघीय संसद् सचिवालयले जानकारी दिएकाे छ । महासचिव गुटेर्रेसको सम्बोधनका निम्ति सचिवालयले आन्तरिक तयारीको काम सुरु गरिसकेको बताइएकाे छ ।

महासचिव गुटेर्रेसले सम्बोधन गर्ने सो बैठकमा संवैधानिक निकाय, नेपालस्थित कूटनीतिक नियोगका प्रमुखहरूलगायत विशिष्ट सरकारी अधिकारीलाई आमन्त्रण गरिनेछ ।

प्रतिनिधिसभा बैठक कात्तिक १२ गतेका निम्ति बोलाइएको र सो सम्बोधनबारे सोही बैठकमा सांसदहरूलाई जानकारी गराइने बताइएकाे छ । राष्ट्रियसभाका निम्ति सूचना जारी गर्ने तयारी छ ।

महासचिव गुटेर्रेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रसंघको ७८औँ महासभा बैठकमा भाग लिने क्रममा नेपाल भ्रमणको निम्तो दिएका थिए । पोर्चुगलका पूर्वप्रधानमन्त्री गुटेर्रेसको अहिले राष्ट्रसंघको महासचिवका रूपमा दोस्रो कार्यकाल हो ।