काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले अब एमालेको नेतृत्वमा समाजवादी क्रान्ति हुने बताएका छन् । सोमबार गण्डकी प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै बादलले एमालेकै नेतृत्वमा जनवादी क्रान्ति सम्पन्न भएको समेत बताए ।
उनले जनवादी क्रान्तिको नेतृत्व एमालेले गरेको बताउँदै अब लेनिनवादी समाजवादी क्रान्तिको मोडलमा जाने बताए ।
उनले एमालेले समाजसुहाउँदो कार्यक्रम लिएर जनवादी क्रान्तिको नेतृत्व गरेको उल्लेख गर्दै अब समाजादी क्रान्तिको फेजमा प्रवेश गरेको बताए ।
उनले भने, ‘नेकपा एमालेले समाज सुहाउँदो कार्यक्रम लिएर जनवादी आन्दोलनको, जनवादी क्रान्तिको नेतृत्व गर्यो । श्रमजीवी जनताको नेतृत्वमा जनवादी क्रान्ति सम्पन्न गर्यो । अब हामी समाजवादी क्रान्तिको फेजमा प्रवेश गरेका छौं । यो भनेको लेनिनवादी समाजवादी क्रान्तिको मोडलमा जाने कुरा हो । हामीले लेनिनवाद मान्ने भनेको समाजवादी क्रान्ति सम्पन्न गर्ने हो ।’
बादलले एमालेको दशौं महाधिवेशनले समाजवादी क्रान्तिको मोडल र कार्यक्रम तय गरेको भन्दै सोहीअनुसार पार्टी पंक्ति अघि बढ्नुपर्ने बताए ।
उनले समाजवादी क्रान्तिका लागि कृषिमा आत्मनिर्भर बन्नैपर्नेमा जोड दिए ।
उनले समृद्ध नेपाल र सुखी नेपालीको नारा एमालेले अघि सारेको भन्दै समाजवादी क्रान्ति सम्पन्न भएसँगै समृद्ध नेपाल बन्ने दाबी गरे ।
बादलले प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल अराजक भएको टिप्पणी गरे । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको संसद विघटनको बचाउ गर्दै उनले प्रचण्ड, माधव र वामदेवहरू सांगठनिक रुपमा अराजक र राजनीतिक रुपमा दक्षिणपन्थी भएकाले संसद विघटन गर्नुपरेको बताए ।
प्रतिक्रिया