पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई बद्नाम गर्ने नियतका साथ कम्बोडियाको दूरसञ्चारमा तीन हजार करोड रुपैयाँ लगानी गरेको हल्ला फैलाइएको बताएका छन् ।
सोमबार पोखरामा एमालेको गण्डकी प्रदेश कमिटीका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथ ग्रहण कार्यक्रममा उनले भने, ‘कम्बोडियामा तीन हजार करोड मैले राखेको छु भने पत्ता लगाउनुस् । धेरै त भन्दिनँ, एक हजार रुपैयाँ थपेर तपाईंकै नाममा गर्दिन्छु ।’
कालापानीको भूभाग नेपालको नक्सामा सामेल गरेपछि तीन वर्षअघि एक भारतीय टेलिभिजनले उक्त अफवाह फैलाएको र पछि माफी मागेर उक्त सामग्री हटाएको उनले स्पष्ट पारे । गल्ती सच्याएपछि मात्रै आफूले उक्त टेलिभिजनलाई अन्तरर्वार्ता दिएको प्रसंग उनले सुनाए ।
‘गलत भयो भनेर सच्चाइसकेको कुरा अहिले नेपालमा हल्ला फैलाएको छ । कहिले ओलीको २७ रोपनी जग्गा सिमरामा, ३७ रोपनी जग्गा गठ्ठाघरमा लिएको छ भनेको छ । स्विस बैंकमा पैसा जम्मा गरेको, अनेक ठाउँमा चार–पाँचवटा विशाल घर बनाएको भनेर हल्ला चलेको छ,’ उनले भने, ‘यो सबै नेकपा एमालेलेलाई कसरी बद्नाम गर्ने भनेर नेतृत्वलाई बद्नाम गर्न खोजिएको हो ।’
अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कहिल्यै नझुक्ने बताएका छन् । ‘मैले दुर्गा प्रसाईँलाई पक्राउ गर्न प्रचण्ड गुहारेको भनेर प्रचार भइरहेको छ,’ उनले प्रचण्डप्रति ईंगित गर्दै भने, ‘काटिएर जाओस् यो शिर, त्यस्ताहरूसँग शिर झुक्दैन । भोकै मर्छ, बाघ घाँसका त्यान्द्रा टिप्न जाँदैन ।’
ओलीले देशमा राजनीतिक रूपमै डकैती भइरहेको आरोप लगाए । भन्सार र एयरपोर्टबाट कर छलेर तस्करी भइरहेको र सरकारले कारबाही गर्न नसकेको उनको आरोप उनको छ । ‘भन्सारमा कर उठ्दैन, तस्करी मात्रै हुन्छ । एयरपोर्टबाट क्विन्टल सुन बरामद भयो, ६० किलोमा झर्यो’ अघि भने, ‘डकैती भइरहेको छ देशमा । साढे ९ केजी सुन बरामद भएको थियो, अहिले २ किलो होला । त्यहीँबाट खाए, सिद्ध्याए ।’
ओलीले देश टाट पल्टिने अवस्थामा पुगेको बताए । ‘विगत दुई वर्षमा देशको अवस्था गम्भीर छ । बनाउन धेरै समय लाग्छ, ध्वस्त बनाउन समय नलाग्ने रहेछ । आर्थिक रूपमा टाट पल्टिने अवस्था छ’, उनी भन्छन्, ‘विदेशमा गएका नानीबाबुले पठाएका रेमिट्यान्सले मात्रै देश चलेको छ । अन्त डामाडोल छ ।’
ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायतले कम्युनिस्ट पार्टी फुटाएर दक्षिणपन्थीको करेसामा बास माग्न पुगेको बताए ।
आफ्नो कार्यकालमा नेपालको उल्लेखनीय प्रगति भएको दाबी गर्दै ओलीले अहिले डामाडोल भएको बताए । ‘मेरो कार्यकालमा दक्षिण एसियाको उदीयमान अर्थतन्त्र भएको देश भनेर नेपालको प्रशंसा गरिएको थियो । विश्वमा तीव्र विकास गर्ने १० देश मध्ये एक हो भनेर प्रचार भएको थियो’ ओलीले भने, ‘अहिले नेपाल दक्षिण एसियाको सबैभन्दा गरिब राष्ट्र बनेको छ । यो गठबन्धनको उपलब्धि हो ।’ उनले अझै २० वर्ष राजनीति गरेर विरोधीलाई तह लगाउने चेतावनी समेत दिए ।


प्रतिक्रिया