जलवायु परिवर्तनबाट प्रभावित मुलुक र समुदायलाई विकसित मुलुकले सहयोग गर्नैपर्छ : महासचिव गुटेरेस

जलवायु परिवर्तनबाट प्रभावित मुलुक र समुदायलाई विकसित मुलुकले सहयोग गर्नैपर्छ : महासचिव गुटेरेस



काठमाडौं । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनबाट प्रभावित मुलुक र समुदायका लागि विकसित मुलुकले क्षतिपूर्तिका रुपमा आर्थिक र सामाजिक सहयोग गर्नेपर्ने बताएका छन् ।

सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै महासचिव गुटेरेसले कार्वन उत्सर्जनमा नेपालको भूमिका नभए पनि जलवायु परिवर्तनको प्रतिकूल असर खेपिरहेकाले नेपालसमेतले यसको क्षतिपूर्ति स्वरुप विकसित मुलुकबाट जलवायु अनुकूललगायत क्षेत्रमा सहयोग पाउनुपर्ने बताए ।

चारदिने औपचारिक भ्रमणमा रहेका महासचिव गुटेरेसले सोमबार जलवायु परिवर्तनका कारण हिमाल पग्लिएर क्षति व्यहोरेका सोलुखुम्बुको सगरमाथा क्षेत्रका स्थानीयसँग छलफल गरेका थिए ।

महासचिव गुटरेसले नेपाल सरकार र नेपाली जनतालाई आत्मीय स्वागतका लागि धन्यवाद दिए । उनले भने, ‘मेरो केही दिनको बसाइँमा मैले धेरै कुरा सिकेँ । त्यो सिकेको कुरा लिएर जलवायु परिवर्तनमा तपाईंहरुको संघर्षलाई र यहाँको विकासका लागि सहयोग गर्नेछु ।’ गुटरेसले नेपालले लैङ्गिक समानतामा हासिल गरेको प्रगतिको प्रशंसा गरे ।

उनले हिमालयको मनोरम दृश्य, यहाँको न्यानो आतिथ्य, सांस्कृतिक विविधता आफूलाई सधैँ याद रहेन बताए । उनले विश्वमा तनाव बढिरहेको बेला यो भेट भइरहेको बताउँदै गरिबी निवारण र भोकमरी विरुद्ध गरिएको दशकौँ लामो संघर्षलाई उल्टाउने काम भइरहेकोमा चिन्ता व्यक्त गरे ।

उनले इजरायल र हमासबिचको द्वन्द्व हजारौँ माइल टाढा भएपनि नेपाल यसबाट प्रभावित भएको जिकिर गरे । उनले हमासको आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थीका परिवारहरूप्रति समवेदना प्रकट गरे ।

उनले नेपालको शान्ति प्रक्रियामा संलग्न नेताहरुप्रति राष्ट्रसङ्घका तर्फबाट सम्मान व्यक्त गरे ।

नेपालले शान्ति प्रक्रियाअन्तर्गत सङ्क्रमणकालीन न्यायलाई अन्तिम निष्कर्षमा पुर्‍याउन लागेकामा शुभेच्छा व्यक्त गर्दै महासचिव गुटेरेसले पीडित पक्षको अधिकार रक्षा गर्दै शान्ति प्रक्रिया टुंग्याउन आग्रह गरे ।