संक्रमणकालीन न्यायको विषयमा सहमति जुटाउन प्रधानमन्त्रीले देउवा र ओलीसँग गरे छलफल

संक्रमणकालीन न्यायको विषयमा सहमति जुटाउन प्रधानमन्त्रीले देउवा र ओलीसँग गरे छलफल



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीसँग छलफल गरेका छन् । संक्रमणकालीन न्यायको विषयमा सहमति जुटाउन प्रधानमन्त्री प्रचण्डले बिहान बालुवाटारमा देउवा र ओलीसँग छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगोमा पुर्‍याउने विषयमा छलफल केन्द्रित भएको बताइएको छ । उनीहरुबीच झण्डै २ घण्टा त्रिपक्षीय छलफल भएको छ । अल्झिरहेको शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन नसकेपछि अहिले अन्तर्राष्ट्रिय समुदायले पनि दबाब बढाउँदै लगेको छ ।

संक्रमणकालीन न्यायसम्बन्धी कानुन संसद्को शान्ति तथा मानव अधिकारमा समितिमा छ । समितिले उपसमिति बनाएर अधिकांश विषयमा सहमति गरेका छन् । उपसमितिले सहमतिमा नै प्रतिवेदन तयार गरेको छ। राजनीतिक तहमा टुंग्याउनु पर्ने विषय मात्रै टुंगिन बाँकी छ ।

नेपाल भ्रमणमा रहेका बेला राष्ट्रसंघका महासचिव गुटेरेसले पनि शान्तिप्रक्रिया टुंगो लगाउन सरकार र राजनीतिक दललाई कूटनीतिक दबाब दिएका थिए ।