व्यावहारिक राजनीतिका नाममा कांग्रेसले आफ्नो सिद्धान्त छाड्न हुँदैन : शेखर कोइराला

व्यावहारिक राजनीतिका नाममा कांग्रेसले आफ्नो सिद्धान्त छाड्न हुँदैन : शेखर कोइराला



पाेखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले व्यावहारिक राजनीतिका नाममा आफ्नो सिद्धान्तलाई कांग्रेसले छाड्न नहुने बताएका छन् ।

नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति कास्की क्षेत्र नं १ को प्रथम क्षेत्रीय सम्मेलनको आज पोखराको लेखनाथमा उद्घाटन गर्दै नेता डा कोइरालाले भने, “सिद्धान्तहिन राजनीति अगाडि बढ्दा कांग्रेसका कार्यकर्तामा निराशा पैदा भएको छ । आउँदो निर्वाचनमा कांग्रेसले चुनाव एक्लै लड्नुपर्दछ, कार्यकर्ताको माग पनि त्यही छ ।”

नेता कोइरालाले कांग्रेस एकढिक्का भएर निर्वाचनमा जाँदा कुनै पनि शक्तिले हराउन नसक्ने उल्लेख गरे । अहिले कांग्रेसलाई कांग्रेसले नै हराइरहेकाले सो कार्य बन्द हुनुपर्ने उनको भनाइ थियो । “कांग्रेस भ्रष्टाचारमुक्त समाज बनाउन चाहन्छ, जनताप्रति उत्तरदायी भई जनताको सेवामा अगाडि बढ्न आवश्यक छ”, उनले भने ।

अर्थतन्त्रलाई चलायमान बनाउन सरकार र दल लाग्नुपर्नेमा जोड दिँदै नेता कोइरालाले भने, “महँगी नियन्त्रणमा वर्तमान सरकारले चासो दिनु जरुरी छ । महँगी नियन्त्रणका बारेमा कांग्रेसले आवाज उठाउनुपर्दछ । वर्तमान गठबन्धन सरकारलाई निरन्तरता दिँदै भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न लाग्नुपर्दछ ।”

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले कांग्रेसलाई बलियो बनाउन सकेको खण्डमा लोकतान्त्रिक गणतन्त्रको रक्षा हुने बताए । उनले नेपाली जनताको विश्वास कांग्रेसमाथि भएकाले जनताको सेवामा कांग्रेस कार्यकर्ता लाग्नुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले कांगे्रसले गरेका काम प्रचारमा ल्याउन नसक्दा पार्टी पछाडि परेको बताए । शिक्षा, स्वास्थ्य, सञ्चार, सडक निर्माणमा कांग्रेस सरकारको पालामा धेरै उपलव्धि भएको उनको भनाइ थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शारदा पौडेल, गण्डकीका सभापति शुक्रराज शर्मा, कास्कीका सभापति किशोरदत्त बराल, कांग्रेस नेता यज्ञबहादुर थापा, कृष्ण केसीलगायतले आ–आफ्ना भनाइ राखेका थिए ।