तीन दलबाट व्यवस्था खतरामा, साना दलप्रति संसद अनुदार : रवि लामिछाने

तीन दलबाट व्यवस्था खतरामा, साना दलप्रति संसद अनुदार : रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कांग्रेस, एमाले र माओवादी केन्द्रबाट नै विद्यमान राजनीतिक व्यवस्था खतरामा परेको आरोप लगाएका छन् । 

बिहीबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेस, एमाले र माओवादीबाटै राजनीतिक व्यवस्था खतरामा परेको बताउँदै अरुमाथि आरोप नलगाउन आग्रह गरे । 

‘यो व्यवस्था, यो संविधान अरु कसैको कारण खतरामा छ कि तपाईं हाम्रै चरित्र र व्यवहारका कारण खतरामा छ ?’ उनले प्रश्न गरे, ‘हामीले व्यवस्था जोगाउन प्राथमिकता दिएको भए यो चिन्ता गर्नुपर्ने थिएन । हामी यो व्यवस्था, प्रणाली जोगाइरहेका छौं कि आफ्ना मान्छे जोगाइरहेका छौं ?’

प्रमुख तीनबाहेकका साना दलप्रति संसद अनुदार बनेको पनि उनको आरोप छ ।

लामिछानेले संघीय संसदले प्रभावकारी काम गर्न नसकेको बताए । उनले ६ महिनाको अवधिमा संघीय संसदले करिब ६ करोड रुपैयाँ खर्च गरेर एउटा मात्रै कानुन बनाएको बताए ।

‘दोस्रो अधिवेशन प्रारम्भ भए यताको ६ महिनामा संघीय संसदले बजेटसँग सम्बन्धितबाहेक मात्र एउटा कानुन बनायो,’ उनले भने, ‘६ महिना समय र करिब ६ करोड खर्चेर यो सदनले एउटा कानुन पास गर्‍यो सभामुख महोदय । योभन्दा धेरै प्रभावकारी म टेलिभिजनमा सञ्चारकर्मी हुँदा हुने गर्दथें । नागरिकका समस्या सुल्झ्याउने काममा योभन्दा धेरै प्रभावकारी काम गरेको मलाई सम्झना आउँछ ।’

संसदमा जनप्रतिनिधिले उठाएको आवाज समेत सरकारले नसुनेको र मन्त्रीहरुलाई सोधेको प्रश्नको जवाफ नपाएको लामिछानेले बताए । ‘ध्यानाकर्षणका लागि हामीले उठाएको विषय मन्त्रीले टिप्छन् कि टिप्दैनन् तर जवाफ दिएका छैनन्’, उनले भने ।