काठमाडौं । चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ भनिने योग ढकाललाई दिएको आममाफि सर्वोच्च अदालतले बदर गरेपछि चेतनकी पत्नी भारती मानन्धरले अनसन तोडेकी छन् ।
सरकारले रिगललाई कैद माफी दिएपछि न्याय माग्दै अनसन बसेकी भारतीले सर्वोच्चको आदेशसँगै जुस पिएर अनसन तोडेकी हुन् ।
माइतीघरमा अनसनरत उनी सर्वोच्चबाट आदेश आउनु केहीबेर अघि सर्वोच्च पुगेकी थिइन् । सर्वोच्चको आदेशपछि आफूले न्याय पाएको भन्दै उनले सर्वोच्चलाई ढोगेकी छन् । फैसला सुनेलगत्तै उनी डाँको छोडेर रोएकी थिइन् ।
अनसनका कारण अस्वस्थ उनलाई अहिले उपचारका लागि वीर अस्पताल लगिएको छ । उनले वीर अस्पतालमै अनसन तोडेकी हुन् ।
संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगलको सजाय छुट गरेका थिए । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले बिहीबार रिगलको कैदमाफी बदर गरिदिएको हो ।
रिगललाई कैद माफी दिइएपछि चेतनकी तत्कालीन पत्नी भारतीले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
सर्वोच्च अदालतले कैद सजाय मिनाहा बदर गरे लगत्तै ढकाललाई बाँके प्रहरीले पक्राउसमेत गरिसकेको छ ।
नेपाल प्रहरीका सहायक प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले अदालतको आदेश अनुसार रिगललाई पक्राउ गरिएको हो ।


प्रतिक्रिया