भूकम्प प्रभावितलाई अस्थायी आवास बनाउन ५० हजार दिने

भूकम्प प्रभावितलाई अस्थायी आवास बनाउन ५० हजार दिने



काठमाडौं । सरकारले जाजरकोटका भूकम्प पीडितलाई अस्थायी आवासका लागि प्रतिपरिवार ५० हजारका दरले राहत दिने भएको छ ।

आइतबार उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको भर्खरै सम्पन्न बैठकले भूकम्पबाट पीडितलाई अस्थायी आवासका लागि प्रति परिवार ५० हजारका दरले रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

उक्त रकम २५/२५ हजारका दरले दुई किस्तामा उपलब्ध गराइने छ । साथै बझाङ केन्द्रबिन्दु बनाई गएको भूकम्पबाट पीडितलाई अस्थायी आवासका लागि प्रति परिवार ५० हजार उपलब्ध गराउने सरकारको यसअघिको निर्णयलाई अनुमोदनसमेत गरेको छ ।

बैठकले राहत उपलब्ध गराउन जाजरकोट र रुकुम पश्चिम जिल्लालाई पाँच-पाँच करोड उपलब्ध गराउने कार्यकारी प्रमुख स्तरीय निर्णयको अनुमोदन गरेको छ । साथै जाजरकोट, पश्चिम रुकुम र सल्यानमा प्रमुख जिल्ला अधिकारीले प्रतिकार्यका लागि गर्नसक्ने खर्च र सीमा समेत तोकेको छ ।

भूकम्पको कारण क्षति भएका निजी आवास, सार्वजनिक भवन र संरचनाको प्रवलीकरण, पुनर्निर्माण र पुनर्स्थापना योजना बनाउन बिस्तृत क्षति आंकलन-मुल्यांकन जनशक्ति र खर्चबारे समेत बैठकले आवश्यक निर्णय गरेको छ ।