विश्वकप : दोस्रो सेमिफाइनलमा अष्ट्रेलिया र साउथ अफ्रिका भिड्दै

विश्वकप : दोस्रो सेमिफाइनलमा अष्ट्रेलिया र साउथ अफ्रिका भिड्दै



काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा बिहीबार अष्ट्रेलिया र साउथ अफ्रिका भिड्दैछन् । भारतको इडेन गार्डेनमा हुने खेल दिउँसो सवा २ बजे सुरु हुनेछ ।

फाइनल प्रवेश गर्ने टिमले उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ । बुधबार न्युजिल्याण्डलाई हराउँदै भारत प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

साउथ अफ्रिका दोस्रो स्थानमा रहदै सेमिफाइनल प्रवेश गरेको हो भने अष्ट्रेलिया तेस्रो स्थानमा रहेर अन्तिम ४ मा प्रवेश गरेको हो । समूह चरणको खेलमा साउथ अफ्रिकाले अष्ट्रेलियालाई १ सय ३४ रनले हराएको थियो । दुवै टिमले समूह चरणमा ७ खेलमा जित र २ खेलमा हार ब्यहोरेका थिए ।

क्विनटन डी ककको ब्याटिङबाट प्रेरित साउथ अफ्रिकालाई बलिङमा कप्तान टेम्बा बावुमाले साथ छ । बलिङ लाइनमा गेराल्ड कोएत्जी, कागिसो रबाडा र स्पिनर केशा महाराजको उपस्थितीले साउथ अफ्रिका बलियो देखिन्छ ।

पाँच पटकको विश्व विजेता अष्ट्रेलिया डेविड वार्नरको विस्फोटक ब्याटिङबाट धेरै आश गरेको छ । स्पिनर एडम जम्पाबाट अष्ट्रेलियन टिम बढी निर्भर देखिन्छ ।

दुवै टिम एकदिवसीय खेलमा १ सय ९ पटक भिडेका छन् । जसमा साउथ अफ्रिकाले ५५ खेल जितेको छ । अष्ट्रेलिया ५० खेलमा विजयी छ । जसमा तीन खेल बराबरी र एक खेल नतिजा विहीन छ ।

साउथ अफ्रिकाले अष्ट्रेलियाविरुद्ध पछिल्ला ५ मध्य ४ खेल जितेको छ । पछिल्लो फर्म हेर्दा अष्ट्रेलिया बिहीबार फाइनल पुग्ने सम्भावना देखिन्छ ।