नारायणहिटीमा आफ्नै वंश नाश गर्नेहरूले संस्कारको कुरा गर्न थाले : प्रधानमन्त्री

नारायणहिटीमा आफ्नै वंश नाश गर्नेहरूले संस्कारको कुरा गर्न थाले : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै वंश नाश गर्नेहरू अहिले लोकतन्त्रवादीहरूसँग संस्कारको कुरा गर्न थालेको बताएका छन् । गणतन्त्र र संघीयतालाई विरोध गरेर एकथरी मान्छेहरूले सामन्ती राजाको स्तुतीगान गरिरहेको उनले आरोप लगाए ।

तनहुँको आँबुखैरेनी अस्पतालको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले राजाको स्तुतीगान गर्नेहरूले नै अहिले गणतन्त्रविरोध कार्य गरिरहेको बताए । ‘एकथरी मान्छेहरू हिजै गणतन्त्रविरोधी थिएद। संघीयताविरोधी थिएद। तिनै मान्छेहरूले ऐन बनाउन पनि नदिने, संघीयता काम छैन पनि भनिरहेका छन्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सामन्ती राजाहरूले दरबारभित्रै रगतको खोलो बगाएका होइनन् । कोतपर्व, भण्डारखाल गराएका होइनन् ? आजकल तिनीहरूले नै संस्कारको कुरा गर्छन् । नारायणहिटीमा आफ्नै वंश नाश गर्नेहरूले संस्कारको कुरा गर्ने लोकतन्त्रवादीहरूलाई ?’

प्रधानमन्त्री प्रचण्डले गणतन्त्रविरोधी गतिविधि भएपछि राजनीतिक दलका नेताहरूसँग छलफल गरेको प्रस्ट्याए । त्यस छलफलमा नेताहरूले गणतन्त्रविरोधी हर्कतहरूलाई समाप्त पार्न ज्यान दिएर लाग्ने आश्वासन पाएको उनको भनाइ छ । ‘के हामी टुलुटुलु हेरिबस्ने हो भनेर मैले केही दिनअघि सबै नेताहरूलाई बोलाएको थिएँ । त्यहाँ सबैले कमिटमेन्ट गर्नुभएको छ । त्यसविरुद्ध सडकमा जान तयार छौं भनेका छन् । प्रतिपक्षी दलका नेताले त झन् ज्यान छोडेर लाग्ने कुरा गर्नुभएको छ,’ उनले भने ।

उनले ठूलो संघर्षबाट लोकतान्त्रिक गणतन्त्र स्थापना भएको भन्दै उक्त व्यवस्था उल्टिन नसक्ने बताए ।