काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंसिर ७ गते माइतीघर मण्डलमा नेकपा एमालेनिकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंको कार्यक्रम गर्न नदिने निर्णय गरेको छ ।
सोमबार प्रशासनसँगकाे छलफलमा दुबै पक्षले शान्ति सुरक्षा कायम राख्नेबारे लिखित रूपमा प्रतिबद्धता जनाएका छन् ।
यसअघि दुबै पक्षले मंसिर ७ गते माइतीघर मण्डलामा प्रदर्शन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग अनुमति मागेका थिए ।
यसरी दुई पक्षको प्रदर्शन जुध्दा शान्ति सुरक्षामा खतरा हुने प्रशासनको आकलनपछि ठाउँ जुधेका कारण अन्तै कार्यक्रम गर्न सुझाव दिइएको छ ।
कुनकुन ठाउँमा कार्यक्रम गर्ने भन्नेबारे पनि निर्णय भइसकेको छैन । दुवै समूह माइतीघरमा आमने–सामने हुने भएपछि गृह प्रशासनले सो क्षेत्रमा ‘झडप’ हुने आकलन गर्दै माइतीघरमा निषेधाज्ञा नै लगाउनेबारे पनि छलफल गरेको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ले देशभरबाट सर्वसाधारण उतार्ने तयारी गरेको छ । युवा संघले पनि ठुलो सङ्ख्यामा कार्यकर्ता उतार्ने गरी तयारी गरेको छ ।
पछिल्लाे समय प्रसाईं र नेकपा एमालेका नेता महेश बस्नेतबीच आरोपप्रत्यारोप हुँदै आएकाे छ ।
प्रतिक्रिया