खेलाडीदेखि समर्थकसम्म तनावपूर्ण भएको खेलमा ब्राजिललाई अर्जेन्टिनाले हरायो

खेलाडीदेखि समर्थकसम्म तनावपूर्ण भएको खेलमा ब्राजिललाई अर्जेन्टिनाले हरायो


ग्लोब नेपाल
486
Shares

काठमाडौं । तनावपूर्ण बनेको खेलमा अर्जेन्टिनाले १० खेलाडीमा सिमित घरेलु टोली ब्राजिललाई १–० ले हराएको छ । फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाको यो पाँचौं जित हो ।

खेलको ६३औं मिनेटमा रक्षक निकोलास ओटामेन्डीको गोलमा अर्जेन्टिनाले अग्रता बनाएको थियो । उनले जिओभानी लो सेल्सोको कर्नर बलमा हेड गोल गरेका हुन् । यसअघि दुबै टोलीका समर्थकबीच हानाहान हुँदा खेल आधा घण्टा ढिला सुरू भएको थियो । भ्रमणकारी टोलीका समर्थकलाई प्रहरीले कुटेको भन्दै अर्जेन्टिना खेलाडीले मैदान छाडेका थिए । दुई पक्षको झडप साम्यपार्न पुलिसले लाठी चार्ज गर्नुपरेको थियो ।

दोस्रो हाफमा घरेलु टोली ब्राजिलले गोलका धेरै अवसर बनाएपनि सदुपयोग गर्न सकेन । केही राम्रो प्रहार अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेजले बचाएका थिए । एन्जल डि मारियालाई स्थान दिँदै मेसी ७८औं मिनेटमा मैदान छाडेका थिए ।

मैदान भित्रसमेत खेल तनापूर्ण स्थितिमा रह्यो । खेलको ८१औं मिनेटमा ब्राजिल १० खेलाडीमा सिमित भयो । ब्राजिलका जोइलिन्टनले सिधै रातो कार्ड पाए । अर्जेन्टिनाका मिडफिल्डर रोड्रिगो डि पाउललाई हातले हानेपछि न्युक्यासल युनाइटेडबाट ब्यवसायिक खेल खेलिरहेका २७ वर्षीय खेलाडीलाई सिधै रातो कार्ड दिइएको थियो ।

खेलभर घरेलु टोली ब्राजिलले २५ र अर्जेन्टिनाले १३ फाउल गरेका थिए । ब्राजिलले एक रातो सहित तीन पहेँलो कार्ड पायो । अर्जेन्टिनाले २३ फ्रिकिक पाएको थियो । जितपछि अर्जेन्टिना ६ खेलबाट १५ अंकसहित शीर्षस्थानमा छ । ब्राजिल ७ अंकसहित छैटौं स्थानमा रह्यो । १३ अंक जोडेको उरुग्वे दोस्रो स्थानमा छ ।