व्यवस्था उल्टाउने दुस्प्रयास गर्नेहरूले अर्को मूल्य चुकाउनुपर्छ : प्रधानमन्त्री

व्यवस्था उल्टाउने दुस्प्रयास गर्नेहरूले अर्को मूल्य चुकाउनुपर्छ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेकाे व्यवस्था उल्टाउने दुस्प्रयास गर्नेहरूले अर्को मूल्य चुकाउनुपर्ने बताएका छन् ।

काठमाडौंमा भएको एक कार्यक्रममा बुधबार बोल्दै प्रधानमन्त्री दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउन चाहने प्रतिगामीहरूको सपना पूरा नहुने भन्दै जनताकाे संघर्षले अहिलेको व्यवस्था आएको बताए ।

‘यो व्यवस्था ल्याउन हजारौंले रगत बगाएका छन्, जेलनेल भोगेका छन् । लाखौं जनताले संघर्ष गरेका छन् । यो व्यवस्था कसैले उल्टाउन खोज्छ भने त्यो सपना मात्रै हो, तिनीहरूको सपना कहिल्यै पूरा हुँदैन,’ प्रधानमन्त्री दाहालले भने ।

पराजित भइसकेका सामन्ती तत्वहरूले अन्तिम पटक टाउको उठाउन खोजेको उनले बताए । ‘अहिले पनि त्यही कोसिस हुँदैछ । संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउने सपना कसैले नदेख्दा हुन्छ । यस्तो दुस्प्रयास गर्नेहरूले फेरि अर्को मूल्य चुकाउनुपर्नेछ,’ उनले भने ।

कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘एकथरि मान्छेहरू लोकतन्त्र र संस्कारको कुरा गर्दैछन् । उनीहरूको संस्कार के हो, लोकतन्त्र कस्तो थियो भन्ने कुरा हामीले राम्रोसँग देखिसकेका छौं । लुटको स्वर्ग गुमेको छटपटी उनीहरूको होला ।’

अहिलेको व्यवस्थाका विरूद्ध षड्यन्त्र गरिरहे थप कठोर हुन बाध्य हुने उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गरेर इतिहासको मञ्चबाट गलहत्याइएका तत्व फेरि फर्कने जमर्को गरेको टिप्पणी गरेका छन् । एकथरी तत्वहरुले अहिले गरेको एउटा दुस्साह कहिले पूरा नहुने उनले दाबी गरे ।

उनले भने, ‘यो उपलब्धि सानो दुख, त्याग र बलिदानले प्राप्त गरेको होइन । सबै ठुला क्रान्ति, आन्दोलन र परिवर्तनपछि प्रतिगामी या इतिहासको मञ्चबाट गलहत्याइएका तत्वहरुले फेरि फर्कने जमार्को गर्छन् । उनीहरुले अन्तिम रुपमा तागत प्रयोग गर्ने कोशिस गर्छन् । त्यो जहाँ पनि हुने गरेको छ । अहिले त्यही अनुसार निरंकुशतावादी तत्वहरु फेरि पुनरागमन गर्ने षड्यन्त्र गर्दैछन् ।’