रिगल जस्तै रेशम पनि जेल !

रिगल जस्तै रेशम पनि जेल !



काठमाडौं । रिगल जस्तै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पनि जेल जाने सम्भावाना बढेर गएकाे छ । शुक्रबार सर्वोच्च अदालतले आममाफी दिएको निर्णयमा कारण देखाऊ आदेश जारी गरेपछि चाैधरी जेल जाने सम्भावना बढेर गएकाे हाे ।

टीकापुर घटनामा अदालतबाट दोषी ठहर भई सजाय काटिरहेका चौधरीले गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएका थिए । आममाफीको निर्णयविरुद्ध शारदा कडायतले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाई रिट दायर गरेकी थिइन् ।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो । शारदा सो घटनामा परी मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी हुन् ।

यस्तै प्रकृतिको रिटमा सर्वोच्च अदालतले राष्ट्रपतिबाट पाएको माफी बदर गर्दै रिगल भनिने योगराज ढकाललाई पुनः जेलमा फर्काएपछि टीकापुर घटनाका दोषी रेशम पनि पुनःजेल फर्किने चर्चा छ ।

टीकापुर घटना २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको थियो भने रिगलको संलग्नतामा चेतन मानन्धरको हत्या सोही वर्ष असार २८ गते बाँकेको नेपालगन्जमा भएको हो ।

टीकापुर काण्डमा ८ सुरक्षाकर्मी र १ बालक मारिएका थिए भने रिगल जोडिएको काण्डमा चेतन मानन्धर एकजनाको हत्या भएको थियो । तर, यी दुवै घटनामा पीडितलाई नियन्त्रणमा लिएर क्रूरतापूर्वक हत्या गरिएको थियो । हत्या गर्ने पक्ष समूहमा गई हातहतियारको प्रयोग गरिएको थियो ।

अदालतको फैसलालाई आधार मान्ने हो भने टीकापुर घटना अझ बढी गम्भीर छ । यस घटनालाई अदालतले हत्या वा कर्तव्य ज्यान मात्र नभई ‘नरसंहार’ भनेको छ ।

जिल्ला, पुनरावेदन र सर्वोच्च अदालतले समेत दाेषी ठहर गरेकाे व्यक्तीलाई सरकारले राजनीतिक अभिष्ट पुरा गर्न आम माफि दिएको थियो ।