बन्धकहरुको तेस्रो समूह रिहा

बन्धकहरुको तेस्रो समूह रिहा

हालसम्म ४७ इजरायली र ११७ प्यालेस्टायनी कैदी रिहा


ग्लोब नेपाल
81
Shares

हमासले बन्धकहरुको तेस्रो समूह मुक्त गरेको छ । यसरी रिहा हुनेमा १४ इजराइली र तीन विदेशी नागरिक गरी १७ जना रहेका छन् । पछिल्लो पटक रिहा हुनेमा इजरायली र अमेरिकी नागरिकताधारी चार वर्षीया बालिका अबिगाली आइडन समेत रहेकी छन् ।

बन्दी साटफेरको सम्झौता बमोजिम इजराइलले पनि थप ३९ जना प्यालेस्टायनी बन्दीहरुलाई रिहा गरेको छ । इजरायली कारगार सेवाका अनुसार इजरायलले जेलमा रहेका प्यालेस्टायनी बन्दी मध्ये हालसम्म १ सय १७ जनालाई रिहा गरिसकिएको छ ।

यसैगरी हमासले पनि तीन पटक गरी हालसम्म ४७ जनालाई मुक्त गरिसकेको छ । चार दिने अस्थायी युद्ध विराम र बन्दी साटफेरको सम्झौता गरेका इजरायल र हमासले ५० जना इजरायली बन्धक रिहा गर्ने र त्यसको बदला इजरायलको जेलमा रहेका १ सय ५० जना कैदी रिहा गर्ने सम्झौता गरेका थिए ।

सम्झौता बमोजिम ३ जना इजराइली बन्दी रिहा हुन र ३३ जना प्यालेस्टायनी कैदी रिहा हुन बाँकी छन् । युद्ध विरामको अवधि सकिन लाग्दा हमासको कब्जामा रहेका अन्य बन्धकहरुमा त्रास र अन्यौलता बढेको छ ।

कतारको मध्यस्ततामा युद्ध विराम गरेका इजरायल र हमासलाई युद्ध विरामको अवधि थप गरी अन्यलाई पनि रिहा गर्नुपर्ने दवाब छ ।