प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच सिंहदरबारमा छलफल

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच सिंहदरबारमा छलफल



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न सिंहदरबार पुगेका छन् । दुईजनाबीच अहिले छलफल जारी छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार दुई नेताबीचकाे भेटमा संक्रमणकालीन न्यायको अन्त्यका लागि टीआरसी विधेयकको टुंगो, गणतन्त्रविरोधी पछिल्ला आन्दोलन र गतिविधिलगायत समसामयिक घटनाक्रममा छलफल भइरहेकाे बताइएकाे छ ।

पछिल्लो समय संविधान र शान्ति प्रक्रियाबाट प्राप्त उपलब्धिविरुद्ध संगठितरूपमा जनतामा उत्तेजना फैलाउने र यसका नेतृत्वकर्तामाथि लाञ्छना लगाउने क्रम बढेको भन्दै प्रमुख राजनीति दलहरू संघीय लोकतान्त्रिक गणतन्त्र रक्षार्थ आफूहरू एकजुट रहेको बताउँदै आएका छन् ।

अध्यक्ष ओली मंगलबार सुदूरपश्चिम जाँदैछन् भने प्रधानमन्त्री प्रचण्ड कोप सम्मेलनका लागि बुधबार दुबई जाँदैछन् ।

दुई नेताको भेटघाट सुरू हुनुअघि प्रधानमन्त्रीले ओलीलाई भर्खरै पुनर्निर्माण सकिएर सञ्चालनमा आएको सिंहदरबार गद्दी बैठक अवलोकन गरेका छन् । २०७२ को भूकम्पपछि क्षति पुगेको यो भवन प्रबलीकरण (रेट्रोफिटिङ) गरी केही दिनअघिबाट सञ्चालन गरिएको थियो ।