बालकृष्ण खाँणजीले अवश्य न्याय पाउनुहुनेछ : देउवा

बालकृष्ण खाँणजीले अवश्य न्याय पाउनुहुनेछ : देउवा



रूपन्देही । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता बालकृष्ण खाँण निर्दोष रहेकोले न्याय पाउने बताएका छन् ।

नेपाली कांग्रेस, रूपन्देहीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले खाँणलाई फसाइएकोले उनले न्याय पाउनेमा आफू विश्वस्त रहेको दाबी गरे ।

‘बालकृष्ण खाँणजीले अवश्य न्याय पाउनुहुनेछ भन्ने मैले भनिसक्या छु,’ उनले भने, ‘हाम्रा वकिल साथीहरू लागिरहेका छन् । मलाई विश्वास छ उहाँले न्याय पाउनुहुनेछ ।’

कांग्रेसभित्र खाँणलाई देउवाको विश्वासपात्रका रूपमा लिने गरिन्थ्यो । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले गत वैशाख २७ गते उनकै निवासबाट पक्राउ गरेको थियो ।

यसअघि पनि खाँणको बचाऊ गर्दै आएका सभापति देउवाले मंगलबार पनि कानुन व्यवसायीहरू लागिपरेको भन्दै खाँणले न्याय पाउनेमा आफू विश्वस्त रहेको दोहोर्‍याएका हुन् ।

देउवाले अदालतमा विचाराधीन रहेको मुद्दामा धेरै बोल्नु उचित नहुने भन्दै उनले न्याय पाउने बताएका थिए ।