भारतमा सुरुङमा फसेका सबै ४१ जना मजदुरको १७ दिनपछि सकुशल उद्धार

भारतमा सुरुङमा फसेका सबै ४१ जना मजदुरको १७ दिनपछि सकुशल उद्धार



काठमाडौं । भारतको उत्तराखण्ड राज्यको उत्तरकाशीमा निर्माणाधिन सुरुङ भत्किएर फसेका ४१ जना मजदुरको १७ दिनपछि सकुशल उद्दार गरिएको छ ।

सुरुङमा फसेका सबैको सकुशल उद्दार गरिएको उत्तराखण्ड राज्य सरकारले जनाएको छ । उद्धारकर्ताहरूले साढे ४ किलोमिटर लामो सुरुङमा ९० सेन्टिमिटर चौडा पाइप छिराएर मजदुरहरुलाई एक-एक गर्दै निकालेका थिए ।

उनीहरुको उद्दार भएसँगै खुसीयाली मनाइएको छ । उद्दार गरिएका सबै मजदुर घाइते समेत भएका छैनन् । उद्दारका क्रममा सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरुङको प्रवेशद्धारमै अस्थायी क्लिनिक बनाइएको थियो ।

साथै उनीहरुलाई तत्कालै अस्पताल पुर्‍याउन एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको थियो । उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले उद्धार गरिएका मजदुरहरुसँग भेट गर्नुभएको छ ।

गत नोभेम्बर १२ देखि भारतको निर्माणाधिन सुरुङमा फसेका मजदुरहरूलाई बाहिर निकाल्न लागि सुरुङमा पाइप जडान गरिएको थियो । सुरुङ निर्माणमा संलग्न मजदुरहरु सुरुङभित्रै पहिरो खसेपछि फसेका थिए ।

सुरुङमा फसेका मजदुरहरुलाई १७ दिनसम्म छुट्टै पाइपबाट अक्सिजन, खानेकुरा र पानी पठाइएको थियो । उद्दारको पर्खाइमा सुरुङ बाहिर मजदुरका परिवार तथा आफन्त भेला भएका थिए । फलामे रडहरू छिचोलेर अघि बढ्नुपर्ने तथा खुकुलो माटो र कडा चट्टान भएका कारण उनीहरूसम्म पुग्न उद्धारकर्ताहरूलाई समय लागेको थियो ।