श्रीमतीको हत्या गरी फरार श्रीमान पक्राउ

श्रीमतीको हत्या गरी फरार श्रीमान पक्राउ


ग्लोब नेपाल
54
Shares

सिरहा । आफ्नै श्रीमतीलाई हत्या गरी फरार रहेका सिरहा नगरपालिका वडा नं. १५ सुखचैनाका ४० वर्षिय देवेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

गत विहीवार ७ गते श्रीमती ३० वर्षीया संजिता कुमारी यादवलाई हत्या गरी फरार रहेको यादवलाई इलाका प्रहरी कार्यालय माडर र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त टोलीले भारतीय सीमा नजीकबाट पक्राउ गरेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रबिन्द्र राज पाण्डेका अनुसार घरायसी विवादका क्रममा श्रीमानले श्रीमतीलाई इँटा र बाँसको भाटाले मरणासन्न हुने गरी कुटपीट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिएको छ ।

यादवलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा भारतको मधुबनी जिल्लाको खजोलि थानाअन्तर्गत सलरा भन्ने ठाउँको झाडीमा फालेको खुलेपछि भारतीय प्रहरीको सहयोगमा शव खोजतलास गरी फेला परेको प्रहरीको भनाई छ ।

आवश्यक प्रकृया पुरा गरी मृतकको शव पोष्टमार्टम पछि परिवारलाई जिम्मा लगाएको छ । मृतकको पाँच जना छोराछोरी रहेको जनाइएको छ । पक्राउ परेका यादवलाई प्रहरीले सिरहा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।