बागमतीलाई हराउदै त्रिभुवन आर्मी फाइनलमा

बागमतीलाई हराउदै त्रिभुवन आर्मी फाइनलमा



पोखरा । त्रिभुवन आर्मी क्लब पोखरामा जारी केपी ओली कप टी- २० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । विहिबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा आर्मीले बागमती प्रदेशलाई ४ विकेटले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

बागमतीले दिएको १२८ रनको लक्ष्य पछाएको आर्मीले १५ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

भिम सार्कीले ३९ रन बनाएको इनिङ्समा कप्तान बिनोद भण्डारीले २५ रन बनाएका थिए । कुशल मल्लले २७ रन बनाउँदा सोमपाल कामीले अविजित १५ रन जोडे । राजेश पुलामी मगर १ रनमा नटआउट रहे ।

आर्मीले पहिलो विकेटको रुपमा सन्तोष कार्कीलाई ७ रनमा गुमाएको थियो । रोहित पौडेल शुन्य र आसिर अहमद ५ रनमा पेविलियन फर्किएका थिए ।

बागमतीका सन्दीप लामिछानेले २ तथा प्रतिस जिसी, इशान पाण्डे, सोनु देवकोटा र रित गौतमले समान एक एक विकेट हात पारेका थिए ।

सुरुवाती ब्याटिङ गरेको बागमती प्रदेशले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो । प्रतिक श्रेष्ठको अर्धशतकमा बागमतीले सो रन जोडेको थियो । कप्तान सन्दीप लामिछानेले १९ रन बनाउँदा रित गौमले १४ र इशान पाण्डेले १२ रन बनाए । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

आर्मीका सहाब आलमले ४ तथा सोमपाल कामीले २ र विवेक यादवले १ विकेट लिए । आर्मीले उपाधिका लागि एपीएफ र मधेश प्रदेशबीचको विजेतासँग खेल्नेछ ।

केपी ओली टी- २० को अर्को सेमिफाइनलमा आजै एपीएफ र मधेश प्रदेशबीच खेल हुदै छ ।