एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष

एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष

गोठलापानी पुग्यो एमालेको पदयात्रा



बैतडी । नेकपा एकीकृत समाजवादी जिल्ला इन्चार्ज र अध्यक्षलगायत नेता नेकपा एमालेमा फर्किएका छन् । एमालेले आजबाट सुरु गरेको मध्यपहाडी राजमार्ग पदयात्राको क्रममा आज बैतडीमा आयोजित सभाबाट नेकपा एसका जिल्ला नेताहरू एमालेमा फर्किएका हुन्  ।

बैतडीको गोठलापानीमा आयोजना गरिएको आमसभामा नेकपा एसका केन्द्रीय सदस्य एवं बैतडी इन्चार्ज नरेन्द्र विष्ट, जिल्ला अध्यक्ष महादेव भट्ट, जिल्ला नेतृहरू पार्वती भट्ट र चमनकुमार भण्डारीसहितका नेता एमालेमा फर्किएका हुन ।

यसैगरी, नेपाली काग्रेंस महाधिवेशन प्रतिनिधि सरस्वती कोली र नेपाल दलित संघको अध्यक्षसमेत रहिसकेका रमेश कोली पनि एमालेमा प्रवेश गरेका छन ।

एमाले अध्यक्ष केपी ओलीले टीका लगाएर उनीहरूलाइ पार्टीमा स्वागत गरेका छन । जिल्ला इन्चार्ज, अध्यक्ष, जिल्लाका नेताहरू एमालेमा फर्किए पछि बैतडीमा नेकपा एस रित्तिएको एमालेले दावी गरेको छ ।

बैतडीमा आयोजित सभालाई सम्बाेधन गर्दै उनले अरूमाथि घृणा फैलाउने, आतंक मच्चाउने विषय पहिचानको राजनीति हुन नसक्ने बताए ।

“अरूमाथि घृणा गर्ने, हिंसा फैलाउने, आतंक मच्चाउने पहिचानको राजनीति हुन सक्दैन । पहिचानको राजनीतिका नाममा जनता भाँड्ने, राष्ट्रिय एकता तोड्ने हाम्रो वैरीहरूलाई मद्दत पुर्‍याउने कुरा हो,” ओलीले भने, “देशलाई अनेकतामा लाने, एकताबद्ध हुन नदिने कुरा हो ।”

उनले विश्व धेरै अघि बढ्दा नेपाल भने ओरालो लागिरहेको बताए ।

अध्यक्ष ओलीले बैतडीको झुलाघाटबाट मध्य पहाडी लोकमार्ग यात्राको उद्घाटन राष्ट्रिय झन्डाको झन्डोतलन गरी आज बिहान सुरू गरेका थिए, सो यात्राको पहिलो स्टेशनको रुपमा गोठलापानी, बैतडी पुगेको हो ।

हाल पुष्पलाल राजमार्गसमेत भनिने मध्य पहाडी राजमार्गको करिब १ हजार ८७९ किलोमिटरसम्म एमालेको पदयात्रा आजबाट सुरू भएको हो, जुन पुस ५ गते चिवा भञ्ज्याङमा पुगेर समापन हुदैँछ ।

‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिको लागि संकल्प यात्रा’ नाम दिईएको उक्त पदयात्राको क्रममा मध्य पहाडी राजमार्गका मुख्य सहरहरुमा आमसभा गर्ने एमालेले जनाएको छ ।