नक्कली भुटानी शरणार्थी प्रकरणमा भोलि आदेश आउने

नक्कली भुटानी शरणार्थी प्रकरणमा भोलि आदेश आउने



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेकाहरुको निवेदनमाथिको सुनुवाइ करिबकरिब सकिएको छ । शुक्रबार खाजा समय अगाडि सबै बहस सकाएर साँझसम्म आदेश आउने सम्भावना रहेको छ ।

बिहीबार न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको इजलासले सुनुवाइ करिब सकेको हाे ।

उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टकाअनुसार उक्त निवेदनमाथि बुधबार साँझसम्ममा निवेदक प्रतिवादीका कानुन व्यवसायी तथा विपक्षी नेपाल सरकारको तर्फबाट बहस सकिएको थियो । बिहीबार निवेदकहरुका तर्फबाट जवाफी बहस भई साँझसम्म सकाउने भनिए पनि केही कानुन व्यवसायीको जवाफी बहस बाँकी रहेकाले शुक्रबार आदेश आउने सम्भावना छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्नको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, एमाले नेता टोपबहादुर रायमाझी, इन्द्रजित राई, तत्कालिन गृहसचिव टेकनारायण पाण्डेलगायत २० जनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका थिए ।

उनीहरुले आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश त्रुटिपूर्ण रहेको भन्दै उच्च अदालतमा पुनरावेदन गरेका थिए ।