गृहमन्त्री श्रेष्ठ अस्पतालबाट ‘डिस्चार्ज’

गृहमन्त्री श्रेष्ठ अस्पतालबाट ‘डिस्चार्ज’



काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । महाराजगञ्जकाे बाँसबारीमा रहेकाे शहीद गङ्गालाल हृदय केन्द्रमा उपचार गराएका मन्त्री श्रेष्ठ स्वास्थ्य लाभपछि आज आइतवार ‘डिस्चार्ज’ भएकाे गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

यही मङ्सिर १९ गते केन्द्रमा भर्ना भएका उनको मुटुको ‘एन्जियोप्लास्ट’ गरिएको थियो । मन्त्री श्रेष्ठको उपचारमा केन्द्रका चिकित्सक डा. अरुण मास्केसहितको चिकित्सकको टोलीले उपचार गरेको थियो ।

मन्त्री श्रेष्ठलाई स्वास्थ्य लाभको कामना गर्न अस्पतालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलगायत पुगेका थिए ।